२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा मात्र छ हजार चार सय ३४ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको संख्या बढेर साढे एघार हजारभन्दा माथि पुगेको हो ।

मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले गत जुलाईयता डेङ्गीको सङ्क्रमण दर बढ्दै गएको बताउनुभयो । जुलाईमा सात सय २८ र अगष्टमा चार हजार ८३ जनामा डेङ्गी देखिएको उहाँले जानकारी दिनुभयो । सबैभन्दा बढी कास्कीमा पाँच हजार नौ सय २८ र कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो ।

शिक्षा अधिकृत शर्माले दिएको जनाएअनुसार हालसम्म तनहुँमा दुई हजार ७३८, पर्वतमा एक हजार ६३, गोरखामा पाँच सय ९२, बागलुङमा तीन सय ९५, स्याङ्जामा तीन सय ९३, म्याग्दीमा एक सय ८९, नवलपुरमा एक सय ७४, लमजुङमा एक सय आठ र मुस्ताङमा आठ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । डेङ्गीका कारण हालसम्म प्रदेशभित्र तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका चार महिला र एक पुरुष, तनहुँ र म्याग्दीका एक/एक जना पुरुष छन् ।

डेङ्गीबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ । महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार आठ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने उहाँको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको रेग्मीले बताउनुभयो ।

महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरेको भएपनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ । “वर्षा रोकिएको केही दिनपछि डेङ्गीको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ” रेग्मीले भन्नुभयो ।

चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ । डेङ्गीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ ।

डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको चिकित्सकले जनाएका छन् ।