२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रु खाना, मोबाइलले ल्याएको रोगहरू



अ+ अ-

-डा. अरुणा उप्रेती
काठमाडौं । दशैं गयो, अब तिहार आउन लाग्यो । दिदी बहिनीले दाजु भाइलाई स्वास्थ राम्रो होस् भनेर दुबोको माला लगाइ दिदाँ, फलफूल दिदाँ, पिज्जा, केक, चाउचाउ र कुर्मुरे दिए भने त स्वास्थ झन् नराम्रो हुन्छ । जंकफुडमा अर्थात पत्रु खानामा बालबालिकाको आकर्षण बढ्नुमा मुख्य कारणहरू मध्ये पहिलो कारण, अभिभावकले आफ्ना छोराछोरीलाई  घरमा पकाउँदा समय धेरै खेर जाने, अल्छि लाग्ने भएकोले प्याकेटका खानेकुरा दिदाँ ‘आनन्द’ हुन्छ भन्ने भ्रम हो । अहिलेको एकछिनको आनन्दले जीवनभर आफ्ना संतानहरू रोगी भएर बाँच्दा के आनन्द हुन्छ होला ?
आमाबुबाको मानसिकता कस्तो छ भने, खाना खान नमान्ने बच्चाले चाउचाउ, कुरमुरे, चाउचाउ जस्ता प्याकेटका खानेकुरा मिश्रण गरेर ख्वायो भने खान्छ । त्यसैले भातमा यस्ता खानेकुरा हालिदिन्छन्, अनि बच्चाले स्वाद लिएको देखेर खुशी हुन्छ । तर त्यो खुशी कति रहला र रु जब २०–२२ वर्षको उमेरमा नै संतानहरू मोटो हुन्छ, चिनी रोग लाग्ने संभावना बढ्छ ।
प्याकेजिङ खानेकुरा खुवाउने बानी बसालेपछि छोराछोरीमा पछिसम्म त्यो लत बन्छ, चुरोट र रक्सी खानेको जस्तो ।

पत्रु खानाको असर तत्काल त नदेखिए पनि भविष्यमा स्वास्थ्यमा नराम्रो असर पर्छ भन्ने शंका छैन । भान्सामा पाक्ने दाल, भात, तरकारी, रोटी, आलु, भटमास, मकै बारीमा फलेको मौसम अनुसारका फलफूल नखाए महंगो प्याकेटको खाना दिने चलनले हाम्रो भोजनको संस्कृतीमा नै नराम्रो असर परेको छ । पत्रु खाना बालबालिकालाई चाहिने पौष्टिक तत्वमा कमी ल्याउँछ । किनभने पत्रु दानामा खानेकुराले क्याल्सियम, भिटामिन, खनिजजस्ता तत्वहरू हुँर्दैनन् । अनि बच्चा कुपोषित भई शारिरीक, मानसिक र संवेगात्मक विकासमा बाधा पुग्छ । तर यो कुरा पनि धेरै बिस्तारै हुनाले प्राय कमैको ध्यान जान्छ । अत्याधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थ हुन्छ , त्यसैले बालबालिकामा मोटोपन बढ्छ । अनि केही वयस्क भएपछि उच्च रक्तचाप, मधुमेह, हड्डी कमजोर हुने जस्ता समस्या देखिन्छन् ।

घरको खाना नदिएर पिज्जा, बर्गर, चाउचाउ, बिस्कुट, केक लगायतका खानेकुरा दिने अभिभावकले सम्झनसहोस्, तपाईँ आफ्ना बालबालिकालाई ‘अस्वस्थ बन्न’ मद्दत गर्दै हुनुहुन्छ । जिन्दगीभर बिरामी होस, मुटु कमजोर होस, हड्डीहरू मक्किनु, शारिरीक र मानसिक रुपमा पनि सधैं सुस्त रहोस् भन्ने कामना नगर्ने हो भने पत्रु खाना दिन छोड्नुस् । परिवारका सदस्यले सबैभन्दा पहिले यो यो बुझ्न जरुरी छ कि, घरको खाना खाएन भनेर बालबालिलाई खानामा पत्रु खाना मिसाएर दिने, त्यति गर्दा पनि मानेन भने मोबाइल दिएर खुवाउने बानी नराम्रो बानी हो । अस्वस्थ बानी हो, आफूसँग राखेर घरकै खाना ख्वाउनु पर्छ । बच्चाले आफ्नो हातले भात, रोटी, खाँदा पोख्छ, फोहोर गर्छ, अनि बिस्तारै सफा गरेर सिक्छ । साथै परिवारमा सबैजना सँगै बसेर खाँदाको आनन्दले पनि बच्चाको स्वासथ्यमा सकारात्मक प्रभाव पार्छ । त्यसकारण बालबालिकालाई जसरी सकिन्छ, पत्रु खाना नख्वाउने, बानी छ भने हटाउन अभिभावकले भूमिका खेल्नुपर्छ ।