६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ?



फाइल फोटो
अ+ अ-

काठमाडौं । अघिल्लो हप्तासम्म प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा जाने कि नजाने भन्ने बारेमा स्पष्ट थिएन । हुनत मन्त्रिपरिषदले उनको अमेरिका भ्रमणदल पास गरिसकेको थियो । तर अन्तिममा आएर प्रधानमन्त्री नजान पनि सक्ने बालुवाटार स्रोतले जनाएको थियो ।

तर पछि भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग न्युयोर्कमा भेटवार्ता हुने पक्का भएपछि मात्र उनी अमेरिका जाने निश्चित भएको थियो । उनको भ्रमण गत आइतबार मात्र निश्चित भएको थियो । त्यो पनि नेपाल र भारतका परराष्ट्रमन्त्रीबीचको फोनवार्ताले ।

आफू क्यानाडा जाने अघिल्लो दिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग फोनमा कुरा गरेकि थिइन् । त्यो फोनवार्तापछि न्युयोर्कमा दुई प्रधानमन्त्रीको भेटवार्ता निश्चित भएको थियो र समय पनि २२ तारिखको साँझ साढे पाँच बजे तय गरिएको थियो ।

तदनुसार उनीहरुबीच नेपाली समय अनुसार सोमबार बिहान सवा तीन बजे भेटवार्ता तय भएको हो । यतिखेर प्रधनमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्क पुगेका छन् ।

परराष्ट्रमन्त्री डा राणा भारत भ्रमणमा गएका बेला सो भेटका विषयमा प्रधानमन्त्री मोदीसँग कुरा राख्नुभएको थियो । त्यस समय उहाँहरुबीच बैंककमा हुन लागेको बिमस्टेकमा सो भेट हुने निश्चित भएको थियो । तर पछि उहाँ नेपाल फर्किएपछि सो सम्मेलन स्थगित हुन पुगेको थियो । त्यसपछि भेटवार्ता अनिश्चित बनेको थियो ।

तर पनि दुइ देशका प्रधानमन्त्रीको भेटवार्ताका लागि परराष्ट्र मन्त्रालयले निकै प्रयास गरेको परराष्ट स्रोतले बतायो । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि पिहलो भ्रमण भारत गर्ने पहिलेको प्रचलन अनुसार भारत जाने समय नभएको र प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा पनि नआएकाले सो भ्रमण अघि दुइ देशका प्रधानमन्त्रीबीचको भेटलाई बढी जोड दिइएको थियो ।

परराष्ट्रमन्त्री डा राणाले सो भेटवार्ताका लागि उपयुक्त स्थान न्यूयोर्क हुनसक्ने भन्दै प्रयास थालेको स्रोतले बतायो । न्युयोर्कमा भेट्ने प्रबन्ध मिलाउन प्रधानमन्त्री ओलीले पनि मन्त्री डा राणालाई पटक पटक निर्देशन दिएका थिए ।

ओली–मोदी भेट तय भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले शनिबार मात्र सार्वजनिक गरेको छ । तर पनि सो भेट भने मन्त्री डा राणा क्यानाडा जानु अघिल्लो दिन अर्थात् भदौ ३० गते नै तय भएको थियो । सो दिन नै परराष्ट्र मन्त्री डा राणा र भारतीय विदेशमन्त्री एस जयशंकरका बीचमा टेलिफोनमा कुराकानी भएको थियो । सो फोनवार्तामा नै दुई देशका प्रधानमन्त्रीबीच भेट हुने तय भएको थियो ।

सो भेटका लागि प्रधानमन्त्री मोदी बसेको होटलमा नै प्रधानमन्त्री ओली पुग्नेछन् । सो भेट करिब आधा घण्टाको हुने परराष्ट्र स्रोतले जानकारी दियो । भेटका एजेण्डा खासै सार्वजनिक नगरिएको भए पनि आपसी हितका विषयलाई जोड दिइने छ ।

नयाँ प्रधानमन्त्री नियुक्त भएपछि ओली र मोदीको यो पहिलो पटक भेट हो । यस भेटमा मोदीको नेपाल भ्रमण एवं ओलीको भारत भ्रमणका विषयमा कुराकानी हुने परराष्ट स्रोतले जनायो । बताइएको छ । भेटावार्ताका अरु एजेण्डा बताइएको छैन ।

तर पनि नेपाल र भारतका परराष्ट्रमन्त्री र उच्च अधिकारीहरु नै त्यहाँ रहेकाले भेटवार्ताका केही एजेण्डाहरु तय हुन सक्ने परराष्ट्रका एकजना उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि परराष्टमन्त्री डा राणाको भारत गएका बेला भएको द्धिपक्षीय वार्तामा उठेका विषयहरुको कार्यान्वयनमा सो भेटमा कुराकानी हुने भएको छ ।

ओली प्रधानमन्त्री भएपछि मोदीले भारत भ्रमणको निम्ता नदिएकाले यो विषयले नेपालमा निकै चर्चा पाएको थियो । परराष्ट्रमन्त्री डा राणालाई भारतका विदेश सचिवले भारत भ्रमणको निम्ता दिएका थिए र उनले भ्रमण पनि गरेकि छिन् ।

नेपालबाट भारतले निर्यात गर्ने बिजुलीको सहजीकरण, बंगलादेश विद्युत निर्यातको विषयका साथै जलवायु परिवर्तनमा मिलेर काम गर्ने जस्ता विषय सो भेटवार्तामा उठ्ने छन् ।

यसअघि परराष्ट्रमन्त्री डा राणालाई भारतले उच्च महत्वका साथ सम्मान दिएको तर प्रधानमन्त्री ओलीलाई भने भारत भ्रमणको निम्ता पनि नदिएछि यस विषयले नेपालमा निकै चर्चा पाएको थियो । कतिले त यसलाई भारतले परराष्ट्रमन्त्री डा राणालाई प्रधानमन्त्री बनाउन लागेको भन्ने चर्चा पनि गरेका थिए । यसकारण पनि न्युयोर्कमा हुने यो भेटलाई निकै चासोसाथ हेरिएको छ ।