२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले संविधानको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार र परिमार्जन स्वभाविक प्रक्रिया भएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क संविधान निर्माणकर्ता र संविधान स्वयम्का लागि मान्य हुन सक्दैनन् । विगतमा गरिएका उपलब्धिमा गर्व र गर्न नसकिएका विषयमा समीक्षा गर्दै अघि बढ्नुमा नै यस दिवस मनाउनुको सार्थकता हुनेछ ।”

संविधान जारी भएयता सङ्घीय संसद्ले थुप्रै ऐन कानुन बनाएको र अझैँ केही महत्वपूर्ण कानुन बनाउन बाँकी रहेको जनाउनुहुँदै उहाँले संविधानअनुकूलका कानुन छिटो बनाई शासन व्यवस्थालाई संस्थागत गर्नु सबैको दायित्व भएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “दिवसले संविधानको कार्यान्वयनमा प्रतिबद्ध रहन, इमान्दारितापूर्वक पालना गर्न र जनताप्रति उत्तरदायी बन्न प्रेरणा प्राप्त होस्, संविधान दिवसको हार्दिक शुभकामना ।”

यसैगरी नेपालको राजनीतिक इतिहासमा संविधानसभाबाट संविधान निर्माण गर्नु ऐतिहासिक परिघटना भएको उल्लेख गर्नुहुँदै उहाँले आफ्ना प्रतिनिधिले बनाएको संविधानबाट शासित हुने सात दशक लामो जनचाहना वर्तमान संविधानबाट पूरा भएको स्मरण गर्नुभयो । “दशवर्षे सशस्त्र युद्ध, २०६२/६३को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका मधेस आन्दोलन, आदिवासी जनजाति, थारू, दलितका विभिन्न आन्दोलनको योगफलका रूपमा नेपालमा संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएको हो”, अध्यक्ष दाहालले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ, “सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने गरी जारी संविधानमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी/समानुपातिक प्रणालीलगायत महत्वपूर्ण उपलब्धि लिपिबद्ध गरी आम नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन संविधान जारी भएको यस दिनले सबैलाई संविधान कार्यान्वयन र यसको पूर्णपालनाका लागि प्रेरणा दिने विश्वास व्यक्त गर्दछु ।”

अध्यक्ष दाहालले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना र राजनीतिक परिवर्तनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली तथा बेपत्ता तथा घाइते, अपाङ्गप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।