• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ ★   ‘आठौं संस्करणको कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ असोज १२ गते हुने ★   सांसद बनेको कार्यकालभित्रै विवाह गर्ने कंगनाको संकेत ★   जनकपुरको गंगा सागरमा पितृ तर्पण गर्नेहरुको भीड ★   बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प ★   जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु ★   पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित ★   तोलामा रु तीन सयले घट्यो सुनको मूल्य ★   पाँच वर्ष स्थायी प्रधानमन्त्री रहनसक्ने पद्धतीको खोजी गरौँः महामन्त्री शर्मा (अन्तरवार्ता) ★   पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्- राष्ट्रिय सभा अध्यक्ष दाहाल

बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्नुपर्छ : उपराष्ट्रपति यादव



file photo

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले व्यवस्था गरेको बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्दै त्यसको कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता भएको बताउनुभएको छ ।

नेपालले संयुक्त राष्ट्र सङ्घीय बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनको स्मरण गर्दै आज मनाइने राष्ट्रिय बाल दिवस, २०८१ को अवसरमा सम्पूर्ण नेपाली बालबालिकामा असीम स्नेहका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले बालबालिकाको शारीरिक, मानसिक तथा नैतिकसहितको पक्षलाई उपेक्षा नगर्न दृढ सङ्कल्प लिने अवसरका रुपमा यसलाई लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा हरेक वर्ष भदौ २९ गते बालबालिकाको सम्मान र उनीहरुको अधिकारप्रति सबैमा जागरुकता ल्याउन यो दिवस राष्ट्रव्यापी रुपमा मनाइन्छ । यस अवसरमा विभिन्न विद्यालय तथा सङ्घसंस्थाहरुले विविध कार्यक्रमहरु आयोजना गर्ने गरेका छन् । “ती कार्यक्रमहरुले बाल अधिकारप्रति जनचेतना अभिवृद्धि गर्न सघाउने विश्वास लिएको छु, यस अवसरमा बालबालिकाका लागि बढी रुचिकर हुने क्रियाकलाप खेल र सांस्कृतिक कार्यक्रमको आयोजनाले उनीहरुलाई आफ्नो अधिकारप्रति जागरुक बनाउन सहयोग पुग्दछ,” उहाँले भन्नुभएको छ ।

उपराष्ट्रपति यादवले मुलुकमा बालबालिकाको वास्तविक अवस्था, बालबालिकाहरुको महत्वबारे जागरुकता बढाउन र उनीहरुको भविष्य उज्ज्वल बनाउँदै उनीहरुको अवस्थामा सुधार ल्याउन बाल दिवसको सान्दर्भिकता र उपादेयता महत्वपूर्ण रहेको जनाउनुभएको छ । नेपालको संविधान, २०७२ को मौलिक हक र कर्तव्यसम्बन्धी भाग ३ को धारा ३९ मा बालबालिकाको हक सुनिश्चित गरेको छ । संविधानले प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामाकरण र जन्मदर्ता, परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकाससम्बन्धी हकको व्यवस्था गरेको छ ।

“बालबालिकालाई ईश्वरको रुप र देशको भविष्यका कर्णधार मानिन्छन, मुलुकको उज्ज्वल भविष्य बालबालिकाको उज्ज्वल भविष्यमाथि निर्भर रहन्छ, कुनै पनि मुलुकमा बालबालिका कमजोर, गरिब र खराब पालनपोषण भएको अवस्थामा त्यस मुलुकको विकास प्रभावित हुन सक्छ, यो तथ्य र विषयलाई हामी सबैले चिन्तन र मनन गर्न आवश्यक छ”, उहाँले भन्नुभएको छ । उहाँले बाल श्रम र अन्य सबै प्रकारको सामाजिक शोषण/हिंसाबाट बालबालिकाहरुलाई बचाउन सार्वजनिक जागरुकतासँगै दृढ प्रतिबद्धता र संविधान प्रदत्त बालअधिकारहरुको अक्षरश: कार्यान्वयनमा जोड दिनुभएको छ ।