२ माघ २०८१, बुधबार
,
Latest
रविका वकिलको मागः तारेखमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्छ अभियन्ता आशिका तामाङ पक्राउ सूर्योदय नगरपालिकामा शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’ काठमाडौं महानगरले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको कानूनमन्त्री लामिछानेको गुनासो कति सिकियो त भूकम्पले सिकाएको पाठ? सभापति देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्ने कंगनाको फिल्म ‘इमर्जेन्सी’लाई बंगलादेशमा प्रतिबन्ध लगाइयो पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको मर्क्युर होटेल उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी



अ+ अ-

गल्याङ । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गर्नुभएको छ । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गर्नुभएका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभएको हो ।

परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा रु ८५ हजार लगानी गरेर व्यवसाय सुरु गरेको बताउनुभयो । “घरमा भएका खरी जातका आठवटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका एक–एकवटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “अहिले फार्ममा ७३ वटा बाख्रा छन् ।”

किसान क्षेत्रीले बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा रु तीन लाख ५० हजार आम्दानी गर्दै आएको बताउनुभयो । उहाँले १६ रोपनी जग्गामा केराखेती पनि गर्नुभएको छ । “केराखेतीबाट वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएको छु । यो वर्ष दुई सय ९२ केराका बोट हावाले ढाल्यो”, उहाँले भन्नुभयो ।

अरूलाई यो गर्नुपर्छ भन्नुभन्दा आफैँले गरेर देखाउनुपर्छ भन्ने सोचसहित बाख्रा पालेको उहाँले बताउनुभयो । उहाँको फार्ममा खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म रु १५ लाख लगानी भएको छ । उहाँको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन् ।

“अहिले व्यवसाय राम्रो हुँदै गएको छ । उत्पादन गर्न सके बजारको समस्या छैन । खसीबोका पोखरा पठाउँछु”, किसान क्षेत्रीले भन्नुभयो । चरन क्षेत्रको समस्या छैन । ” यहाँका प्रत्येक घरमा १० देखि २५ वटासम्म बाख्रा छन् । एक घरको गोठालो जान नपाउँदा अर्को घरकाले सहयोग गर्ने चलन छ ।

“व्यवसायबाट सन्तुष्ट छु । बाख्रापालन र केराखेतीबाट मासिक रु एक लाख ५० हजार सम्म आम्दानी हुने गरेको छ ”, उहाँले भन्नुभयो, “मालिक बन्छु भन्ने सोच राखियो भने प्रगति हुँदैन । आफू सक्रिय भएर व्यवसाय थाल्ने हो भने सफल बन्न सकिन्छ, विदेश जानुपर्दैन ।” सरकारबाट अनुदान नलिएको उहाँले बताउनुभयो । नगद नभई दानापानीमा अनुदान दिनुपर्नेमा उहाँको जोड छ ।

क्षेत्रीले बाख्रा र केरा बेचर बुटवल, सुनवल, चितवन, मिर्दी भिमाद सडकमा घडेरी किनेको बताउनुभयो । उहाँले गाउँमा गाह्रोसाह्रो पर्नेलाई दिएको रु ७५ लाखसम्म पुगेको बताउनुभयो ।

गाउँपालिकाका कृषि अधिकृत हरिप्रसाद गैह्रेले पालिकाले किसानलाई नि:शुल्क उपचार तथा औषधि वितरण, परामर्श, घाँसका बीउ वितरणलगायत सहयोग गर्दै आएको बताउनुभयो । गत वर्ष दुईवटा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन थिए । त्यतिबेला २८ वटा शुद्ध बोयर बीउ बोका वितरण गरियो । तीन सयभन्दा धेरै कुखुराका चल्ला पनि वितरण गरियो । यो वर्ष पनि किसानका मागका आधारमा काम गर्छौँ ।” रासस