• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

अन्य राजनीतिक दलहरुलाई कमजोर बनाउने हाम्रो नीति होइन: देउवा



काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै उहाँले दुई ठूला राजनीतिक दल मिलेपछि अरु पार्टीलाई सिध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह गर्नुभयो । उहाँले कुनैपनि पार्टीलाई सिध्याउने र कमजोर पार्ने नीति काँग्रेस र एमालेको नभएको बताउनु भयो ।

उहाँले सबैलाई मिलाएर अघि बढाउन आफूहरुले चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो समय पार्टी परित्याग गरेकाहरु पनि पार्टीमा पुन: फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले काँग्रेसलाई कमजोर बनाउनेहरु नेपालमा रहेको भन्दै सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्ने बताउनु भयो । उहाँले आफूले अब सबैकुराबाट सन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरुले लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पगेर अहिले नयाँ सरकार बनेको छ । एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरु चिन्तित थिए । डराएका पनि थिए । अफ्ठ्यारो पनि मानेका थिए । उहाँहरुकै सुझाव अनुसार एमालेका नेता केपी शर्मा ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । त्यो सहमतिले अहिले केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ । यसले देशभरका साथीहरुमा सुखद् कुरा आएको छ । सबै साथीहरु खुशी छन् । दुई पार्टीको बीचमा जो सहमति भएको छ ।

त्यसले अरु केही पार्टीका साथीहरु दुई पार्टी मिलेपछि हामी अरु पार्टी सिद्धिन्छ भन्ने चिन्ता होला । तर हामी कसैलाई सिध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति पनि होइन । मलाई लाग्छ, एमालेका नेता केपी ओलीज्युको कुरा पनि होइन । त्यसैले हामी सबैलाई मिलाएर अघि बढ्नुपर्ने कुराहरु छ । हामी सबैलाई मिलाएर अघि बढाउन चाहन्छौँ । अहिलेको बेलामा एमाले र काँग्रेसको बीचमा सहमति भएको छ । यसले हाम्रोबाट अरु पार्टीमा गएकाहरु पनि फर्किंदै छन् । अझै फर्काउने काममा लाग्नुपर्छ । धेरै पार्टीले हामीलाई कमजोर बनाउन खोजकै हो । हाम्रो पार्टी कमजोर बनाउनेहरु अझै छन् । हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनु पर्छ । मेरो एज पनि गयो । हरेक कारणले पनि रिटायरमेण्टको बेला भइसकेको छ । भोलि हुने नेताहरुले नै चिन्ता बढी गर्नुपर्छ । मलाई भन्दा बढ्ता चिन्ता गर्नुपर्छ ।’

सभापति देउवाले भोलिका दिनहरु चुनौतिपूर्ण र महत्वपूर्ण अवसरका रुपमा रहेको भन्दै दुवैलाई मिलाएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले अब पार्टीको नेतृत्व लिने नेताहरुलाई काम गरेर देखाउन पनि चुनौति दिनुभयो । उहाँले काँग्रेस र एमालेको सरकार बनेपछि देशभर उत्साह पैदा भएको बताउनु भयो ।