• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी ★   पूर्वमन्त्री शर्मालाई पितृशोक ★   रवि चलाख रहेछन्, त्यस्तो गर्छन् भन्ने मैले पत्याएकै थिइनँ: देउवा ★   दुई वर्षपछि पार्टी सभापति देउवा प्रधानमन्त्री हुनुहुन्छ: गगन थापा ★   १२ औं एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने ★   सार्वजनिक यातायातको भाडा चाँडै समायोजन हुन्छ: मन्त्री दाहाल ★   बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण अन्तिम चरणमा ★   कांग्रेस चितवनद्धारा ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन ★   पहिरोले महाकाली राजमार्ग अवरुद्ध ★   सरकारलाई सांसदहरुको सुझाव: राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी व्यवस्था गरौँ

मुस्ताङको चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा



म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाई लम्बाउनका लागि उपयुक्त सम्भावना बोकेको हिउँ चितुवा गुफा पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।

जोमसोम–ठिनी–ढुम्बाताल सडकदेखि गुफासम्म पुग्ने उकालोमा निर्माण गरिएको पदमार्ग भत्किएपछि पर्यटकलाई त्यहाँ पुग्न समस्या भएको छ । करिब तीन सय मिटर पदमार्ग निर्माण गर्न सकेमा पर्यटकलाई आवत जावत गर्न सहज हुने बताइएको छ ।

कालोपत्रको तयारीमा रहेको जोमसोम–ठिनी–ढुम्बाताल सडकको ठिनीदेखि गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग भएमा पर्यटकलाई सहज हुने ठिनीवासी निरज थकालीले बताउनुभयो । “गुफाको नाम हिउँ चितुवा राखिएका कारण नै हिउँ चितुवा र गुफाबीचको सम्बन्धका बारेमा धेरैलाई चासो छ,” उहाँले भन्नुभयो “गुफा भएकै ठाउँमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले क्यामेराहरु राखेर हिउँ चितुवाको भिडियो र फोटोहरू खिचेको थियो । त्यो बेलामा चार वटा हिउँ चितुवा क्यामेरामा कैद भएकाले गुफा र हिउँ चितुवाको सम्बन्ध पुष्टि भएको हो ।”

गुफा रहेको क्षेत्रमा दुर्लभ वन्यजन्तु हिउँचितुवा आउने तथा गुफा र हिउँ चितुवा दुवैको प्रचारप्रसार हुने भएकाले ‘हिउँ चितुवा गुफा’ भनी नामकरण गरिएको थकालीले बताउनुभयो । लोपोन्मुख अवस्थामा रहेको हिउँचितुवा नेपालको हिमाली भेग सहित विश्वका १२ देशमा मात्र पाइन्छ ।

जोमसोम बजारबाट ठिनी हुँदै गाडीमा १० मिनेटको यात्रा गरी पाँच मिनेटको पैदल यात्रा गरेपछि गुफामा पुगिन्छ । वि।स। २०७१ मा उद्यान बनाउने क्रममा निस्कीएको माटो पन्छाउने क्रममा तीन वटा गुफाहरु भेटिएका थिए । १० मिटर भन्दा बढी लामो गुफाभित्र विभिन्न प्राकृतिक आकृतिहरु देख्न सकिन्छ । गुफाभित्रैबाट ठिनी गाउँ र जोमसोम बजार अवलोकन गर्न पाउनु यहाँको थप आकर्षण हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप), नेपाल पर्यटन बोर्ड र घरपझोङ गाउँपालिकाले प्रवेशद्धार, पदमार्ग र गुफा परिसरमा पर्यटक बस्ने बेञ्च बनाएका थिए । धेरै बर्षात भएर प्रवेशद्धार देखि गुफा सम्म पुग्ने पदमार्ग भत्किएपछि समस्या भएको छ ।

पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले हिउँ चितुवा गुफा जोड्ने पदमार्ग लगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा २० लाख बजेट बिनियोजन भएको जानकारी दिनुभयो । प्रदेश सरकारले विनियोजन गरेको उक्त बजेटबाट पदमार्ग निर्माण भएपछि पर्यटकहरुलाई सहज हुने र आगमन बढ्ने उहाँले बताउनुभयो । रासस