• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुरस्थित महेन्द्र शान्ति माविको भवन उद्घाटन ★   तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन ★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

पर्यटकको बसाइ लम्ब्याउन दियालो बङ्गला सहयोगी



चितवन । सर्वसाधारणका लागि दियालो बङ्गला खुला गरेसँगै हालसम्म २३ हजार पाँच सय ७४ जनाले अबलोकन गरेका छन् । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएर गत असार २३ गतेदेखि बङ्गला सर्वसाधारणका लागि खुला गरिएको थियो । यही भदौ २२ गतेसम्म एक सय २७ जना विदेशी पर्यटक पनि बङ्गला अवलोकन गरेका थिए ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार अवलोकन गर्न आएकाबाट रु २३ लाख ४४ हजार एक सय राजस्व सङ्कलन भएको छ । सर्वसाधारण नेपालीलाई प्रवेश शुल्क रु एक सय, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ ।

यस्तै छिमेकी राष्ट्र भारत र चीनका पर्यटकका लागि रु एक सय ५०, तीबाहेकका सार्क राष्ट्रका पर्यटकका लागि रु रु दुई सय र अन्य मुलुकका पर्यटकका लागि रु तीन सय शुल्क तय गरिएको छ । उपप्रमुख अधिकारीले दैनिक घुम्न आउनेको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।

भरतपुर –१ मा दियालो बङ्गला छ । नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो । उठेको राजस्वको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउनेगरी व्यवस्थापन गरिएको हो । महानगर प्रमुख रेनु दाहालले दियालो बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताउनुभयो । यहाँ अवलोकन र अध्ययनका लागि आउने पर्यटक बढ्दै गएको उहाँको भनाइ छ ।
जाडो महिनामा तत्कालीन राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेकाले यहाँको महत्व र यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको हो । राजपरिवारले सिकार खेल्न आउँदा बस्ने ठाउँ हो यो । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठककक्ष छ । बङ्गलाको भित्तामा पूर्व राजारानी तस्बिर देख्न सकिन्छ । भर्याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । एक नम्बर खोपी रत्नराज्यको हो भने दुई नम्बर राजा र तीन नम्बर रानी, चार र पाँच राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि ‘एडिसी क्वार्टर’ छ । केही पर सवारीसाधन राख्न ग्यारेज छ । त्यसको छेउमा रहेको पौडीपोखरीमा अहिले पानी छैन ।

महानगरप्रमुख प्रमुख दाहालले लामो समयदेखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्रभित्र के छ भन्ने कौतुहलता मेट्दै सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण मिलाइएको बताउनुभयो । व्यवस्थित व्यवस्थापनका लागि महानगरपालिका लागिपरेको उहाँले जानकारी दिनुभयो ।

चितवन घुम्न आउने पर्यटकका लागि बसाइ लम्ब्याउन बङ्गला सहयोगी हुने देखिएको छ । भरतपुर भ्रमण वर्षका अवसरमा महानगरपालिकाले नेपाल ट्रष्टसँग आग्रह गरेर सर्वसाधारणका लागि खुला गरेको हो । रासस