२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’



अ+ अ-

काठमाडौं । उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको थियो ।

अहिले ठमेल क्षेत्र खुलेसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो । बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे । अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवा पुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनःव्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । 

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले कोभिड–१९ का कारण विदेशी पर्यटक नेपाल घुम्नका लागि नआए पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर ठमेलमा पर्यटकीय गतिविधि शुरु गरेको बताउनुभयो । “यही हप्ताबाट रात्रिकालीन व्यवसाय शुरु गर्नेबारे परिषद्ले विभिन्न निकायसँग छलफल चलाइरहेको छ”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय क्षेत्र ठमेलका होटल, रेष्टुरेन्ट र डिस्को, क्लबहरु विस्तारै खोल्नुपर्छ ।”  

यहाँका ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ । ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन ठमेलका घर धनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् । पर्यटन व्यवसायी सुदर्शन नेपालले ठमेललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “विश्वले चिनेको ठमेलमा दिवा तथा रात्रिकालीन गतिविधि सञ्चालन गरेर राज्यले फाइदा लिनुपर्छ”, उहाँले भन्नुभयो । 

ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । दशैँ र तिहारको समयमा भने ठमेलभित्र थोरैमात्रामा भए पनि पर्यटकीय गतिविधि बढेको उहाँको भनाइ छ । नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले वार्षिक अर्बौंको कारोवार हुने ठमेललाई स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने बताउनुभयो । “ठमेललाई पूर्ववत् अवस्थामा फर्काउनका लागि सरकार र व्यवसायी एक भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको छ ।