• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

ढोरपाटनको नवी गाउँमा जग्गा चक्लाबन्दी गरि स्याउखेती



ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा जग्गा चक्लाबन्दी गरि स्याउखेती सुरु गरिएको छ ।

परम्परागत रुपमा खेती गरिँदै आएको स्याउले राम्रो उत्पादन नदिएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ बागलुङको सहयोगमा गत वर्षदेखि आधुनिक प्रविधिको प्रयोग गरि खेती गर्न थालिएको हो । ढोरपाटनमा वर्षौ अगाडिदेखि नै स्याउखेती गर्दै आए पनि अपेक्षित रुपमा उत्पादन हुन सकेको थिएन ।

आर्थिक वर्ष २०८०/८१ मा नवी गाउँको दुई सय ८० रोपनी जमिन चक्लाबन्दी गरि स्याउ लगाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ बागलुङका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । मुस्ताङको मार्फादेखि चार हजार दुई सय बिरुवा लिएर लगाएको उहाँको भनाइ छ ।

ढोरपाटनमा राम्रो स्याउ उत्पादन हुने हावा, पानी र माटो भएको हुँदा लगानी गरेको प्रमुख पौडेल बताउनुहुन्छ । लगाइएको स्याउका बिरुवाले चार वर्षमा उत्पादन दिने भएपछि किसान पनि खुसी भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको रु १७ लाख अनुदान र किसानको रु नौ लाख लगानीमा स्याउखेती गरिएको हो । यस गाउँमा रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल डेलिसियस जातका स्याउका बिरुवा लगाएको पौडेलले जानकारी दिनुभयो ।

यस वर्ष पनि उक्त स्याउका बिरुवा राम्रोसँग हुर्काउनका लागि किसानलाई तालिमसहितका कार्यक्रम सञ्चालन गरिने उहाँ बताउनुहुन्छ । नवी गाउँको तल्लो बिजउले कृषक समूह र नवी प्रगतिशील कृषक समूहमार्फत किसानलाई जोडेर स्याउखेती थालिएको पौडलको भनाइ छ ।

उहाँले भन्नुभयो, “नवी गाउँमा पहिलेदेखि रैथाने जातका स्याउखेती गर्दै आउनुभएको रैछ, किसानहरुले राम्रो स्याहार सुसार र काँटछाँट नगर्दा उत्पादन राम्रो हुन सकेको थिएन, गत आर्थिक वर्षमा हामीहरुले किसानलाई नयाँ जातका स्याउका बिरुवा लिएर उत्पादन गर्न लगाएका छौँ, आवश्यक अनुदान र प्राविधिक सहयोग पनि गरिरहेका छौँ, यो स्याउले अबको दुई/तीन वर्षमै उत्पादन दिन्छ, किसानले बिरुवा हुर्काउन सके धेरै लाभ लिनसक्ने छन् ।”

नवी गाउँका किसान नन्दे सुनारले यस क्षेत्रमा आफूहरुले झण्डै दुई दशक अगाडिदेखि स्याउखेती गर्दै आएको जनाउँदै राम्रो लाभ भने लिन नसकेको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ठूलो लगानी गरेर गाउँमा स्याउखेती गर्न प्रेरित गर्दा किसान उत्साहित भएको उहाँको भनाइ छ ।

ढोरपाटन आलु र स्याउका लागि प्रख्यात मानिँदै आए पनि किसानहरुमा प्राविधिक ज्ञान नहुँदा उत्पादन बढाउन नसकेको सुनार बताउनुहुन्छ । “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट यति ठूलो सहयोग पाउँदा हामीहरु धेरै खुसी भएका छौँ, पहिले बारीहरु खाली हुन्थे, अव्यवस्थित थिए, अहिले चक्लाबन्दी गरेर स्याउ लगाएपछि बाँझो जग्गा पनि प्रयोगमा आएको छ”, सुनारले भन्नुभयो, “स्याउका बिरुवा पनि राम्रोसँग बढ्दै छन्, केही पानी र मलको कमी हुँदा मरे, तर धेरैजसो राम्रो तरिकाले हुर्किँदै गएका छन्, यि बिरुवाहरुले फल दिन थालेपछि धेरै किसानको आयआजर्नमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

स्थानीय झकेन्द्र सुनारले अहिले गाउँका धेरै किसानले व्यावसायिक रुपमा स्याउखेती तर्फ चासो दिएको बताउनुभयो । गाउँमा रहेका कृषि समूहमार्फत धेरै स्थानीयलाई जोडेर स्याउखेतीमा लागेको उहाँको भनाइ छ । अहिले पनि नवी गाउँका बारीमा थुप्रै स्याउका बोट रहे पनि ती बोटमा निकै साना आकारमा फल फल्ने र मीठोसमेत नहुने सुनार बताउनुहुन्छ । रासस