१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

मासिँदै कालीगण्डकीको जलसभ्यता

मासिँदै कालीगण्डकीको जलसभ्यता
अ अ+ अ-

गलेश्वर । सडक, ढल, जथाभावी गरिएको उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगङ्गा) को जलसभ्यता सङ्कटमा पर्दै जान थालेको छ ।

धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको उचित व्यवस्थापन र संरक्षण नहुँदा जलसभ्यता सङ्कटमा पर्न थालेको हो ।

पवित्र कालीगण्डकी नदीको प्राकृतिक रूप पछिल्ला केही वर्षयता नासिँदै गएको छभने गङ्गाजल ९नदीको पानी० पनि प्रदूषित हुँदै गएपछि नदीको निर्मलस्वरुप सङ्कटमा परेको सरोकार भएकाहरुले बताएका छन् । मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दीको सदरमुकाम बेनी हुँदै गुल्मीको रिडीसम्म पुग्दा कालीगण्डकीको निर्मल जलमा सहरबजारका ढल मिसाइँदा गङ्गाजल प्रदूषित बन्दै गएको कालीगण्डकी बचाउँ अभियानका अभियन्ता सागरजीवी उपाध्यायले बताउनुभयो ।

बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, ग्रेगर तथा बर्सेनि आउने बाढीपहिरोका कारण् पवित्र नदीको मौलिक स्वरुपमा परिवर्तन आएको वातावरण संरक्षणकर्मीहरुले बताएका छन् ।

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर खण्डको विभिन्न ठाउँमा पहिरो गएर साँघुरो भएपछि सडक विस्तार गर्ने नाममा त्यहाँका ढुङ्गा र ग्रेगरहरु कालीगण्डकीमा खसाल्ने गरिएकाले नदी प्रदूषित बन्दै गएको अभियन्ता उपाध्यायले उल्लेख गर्नुभयो । डोजर र स्काभेटरले जथाभावी उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली खल्बलिँदै गएको उहाँको भनाइ छ ।

बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली खल्बलिएको वातावरण संरक्षणकर्मी हरि सिग्देलले बताउनुभयो । सर्वोच्च अदालतले नदी उत्खनन, नदीमा फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरिसकेको भए पनि यी कार्यहरु अझैसम्म नरोकिएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कट बढ्दै गएको उहाँको भनाइ छ ।

नदीले मौलिक धार परिवर्तन गर्दा बाढी र पहिरोको जोखिम बढ्नाका साथै तटीय क्षेत्रका बस्तीहरु थप जेखिममा पर्दै जान थालेका छन् । नदी साबिकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी इन्द्रमान शेरचनले बताउनुभयो । उहाँका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढी, पहिरो र नदी कटानको जोखिम उच्च रुपमा बढ्दै गएको छ । कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न/नगराउन सर्वोच्च अदालतले दुई वर्षअघि विसं २०७९ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न/नगराउन मन्त्रिपरिषद्को कार्यालय समेतलाई अन्तरिम आदेश दिएको हो ।

यस्तो छ कालीगण्डकीको महत्व

कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदी मात्र नभई सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रुपमा रहेको विषयलाई कसैले बिर्सन नहुने सरोकार भएकाहरुको भनाइ छ ।

राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउँले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्बन्ध रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । “विश्वको एकमात्र शालिग्राम पाइने नदीका रुपमा यसको बेग्लै पहिचान छ । हिन्दूहरुको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास अहिले पनि प्रचलनमा छ”, उहाँले भन्नुभयो ।

कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभई पशु, पक्षी, किट, पतङ्गदेखि मानव जातिलाई समेत सेवा पुर्‍याएको प्राकृतिक सेवक पनि भएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । “कालीगण्डकीको धार्मिक महत्व अवर्णनीय छ । यसको जैविक, सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्व पनि कम छैन”, उहाँले भन्नुभयो ।

कालीगण्डकीको मुक्तिनाथबाट देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ । यस नदीबाट हजारौँ हेक्टर भूमि सिञ्चित भएको छ । कालीलाई थुनेर ठाउँठाउँमा विद्युत् ऊर्जा निकालिएको छ । नेपालको सबैभन्दा ठूलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा रहेको छ ।

‘माछापुच्छ्रे गिरि शिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम
काली गङ्गा भनन कसरी कुँद्छ्रयौ शालिग्राम ?’

राष्ट्रकवि माधवप्रसाद घिमिरेले कालीगण्डकीलाई शालिग्राम कसरी कुद्छ्यौ ? भनी प्रश्न गरेर लेख्नुभएको यो कवितांशमा कालीगण्डकीको महिमा झल्किएको पण्डित पराजुलीले उल्लेख गर्नुभयो । शालिग्राम कुद्ने विशिष्ट वरदान पाएको कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाममा मानवीय प्रहार हुन थालेपछि पवित्र नदीको सभ्यता र अस्तित्व दुवै सङ्कटमा परेको स्थानीय बताउँछन् । नदीको संरक्षण गरी जलसङ्कट अन्त्य गर्न तीनै तहका सरकारत नीति र योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभभयो । रासस