२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकर्णेश्वर मन्दिर क्षेत्रमा फोहर उठाउन ढिलाइ



अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्र कृष्ण औँसीको अवसरमा सोमबार लागेको पितृ सम्मान दिवसको मेलाका कारण जम्मा भएको फोहर उठाउन ढिलाइ गरिएको छ ।

बाबुको मुख हेर्ने औँसीका रुपमा चिनिने भाद्र कृष्ण औँसीमा बाबु बितेका छोराछोरीले गोकर्णेश्वर उत्तरगया क्षेत्रमा आई पिताप्रति सम्मान प्रकट गर्ने गर्छन् । सोमबार पनि नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनको गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भीड लागेको थियो । उक्त भीडसँगै थुप्रिएको फोहर व्यवस्थापन हुन नसक्दा आज मन्दिर क्षेत्र प्रवेश गर्नै नसकिने अवस्था भएको भक्तजनको गुनासो छ ।

आज सूर्योदयकालमा औँसी तिथि रहेकाले केही भक्तजन श्राद्ध गर्न जम्मा भएका थिए । पितृप्रति श्रद्धाभाव प्रकट गर्न भोजपुरबाट आउनुभएका चन्द्रबहादुर अधिकारीले पितृतीर्थ धामका रुपमा परिचित गोकर्णेश्वर मन्दिर क्षेत्रमा थुप्रिएको फोहरले दर्शन गर्नै कठिन भएको गुनासो गर्नुभयो ।

मन्दिर क्षेत्र व्यवस्थापन समितिले फोहर गर्नेलाई सफाइमा जिम्मेवार बनाउने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वाग्मती नदीको किनारमा अवस्थित गोकर्णेश्वर मन्दिर वरपर भएको फोहर व्यवस्थापन नगरिँदा नदी थप प्रदूषित भएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानले सोमबार दिउँसो ४ बजेपछि त्यस क्षेत्रमा सफाइ गरेपनि पूरै फोहर भने उठाएन । अभियानले आज बिहान पनि ७ बजेदेखि सफाइ गरेको अभियानकर्मी भगवान् पुडासैनीले जानकारी दिनुभयो ।

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले सफाइमा समय लागेको स्वीकार गर्दै भोलिसम्ममा गोकर्णेश्वर क्षेत्रको सफाइ गरिने बताउनुभयो । वाग्मती सफाइ अभियान, लायन्स र लियो क्लबको सक्रियतामा हिजोदेखि सफाइ भइरहेको जानकारी उहाँले दिनुभयो ।

लाखौँ भक्तजनका कारण थुप्रिएको मेलाको फोहर व्यवस्थापनमा समय लागेको समितिले जनाएको छ । आगामी वर्षदेखि भक्तजनले आफूले गरेको फोहर आफैँले व्यवस्थापन गर्ने तयारी गरेका समितिले जनाएको छ ।