• ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
  •   Unicode
Logo
Latest
★   जापानमा गर्मीको उच्च रेकर्ड कायम ★   सिरियाको नयाँ प्रधानमन्त्रीमा जलाली नियुक्त ★   फिल्मी शैलीमा अस्पतालको शौचालयबाटै भागे कैदी ★   सप्तरीमा माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, पूर्व–पश्चिम राजमार्गमा अवरोध ★   इन्द्रजात्रा प्रारम्भ: हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइयो -फोटो फिचर ★   भारतको खुद्रा मुद्रास्फीति ३.६५ प्रतिशत ★   इजिप्टमा रेल ठोक्किँदा ३ जनाको मृत्यु, ४९ घाइते ★   बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्योः अध्यक्ष दाहाल ★   इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा कांग्रेसनिकट सिडेनका बराल निर्वाचित ★   मेसी र स्वारेजको गोलमा मियामीको जित

भाद्र कृष्ण औँसी: पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णमा भक्तजनको भीड-फोटो फिचर



काठमाडौँ: दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ ।

भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यही धार्मिक विश्वासका कारण आज बिहानदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो ।

गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानदेखि सुन्दरीजल–जोरपाटी र बागमतीको कोरिडोर भएर गुड्ने सवारी साधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । गोकर्णेश्वर महादेव मन्दिर प्रवेश गर्ने सुन्दरीजलतर्फको नाकामा चौतारा माइती नेपाल चोक, जोरपाटी प्रवेश गर्ने नाकामा नेपाल मेडिकल कलेज चोक, माकालबारी प्रवेश गर्ने बागमतीको सानोपुल र आरुबारी प्रवेश गर्ने पानी खोल्सामा सवारी रोकिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहनुभएको गोकर्णेश्वर नगरपालिका–४ का वडाअध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो ।

सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्र कृष्ण औँसीका दिनमा यहाँ भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिनुभयो ।

गोकर्णेश्वरमा आएका भक्तजनले भने धार्मिक रूपमा महत्वपूर्ण भए पनि गोकर्णेश्वरमा व्यवस्थापन राम्रो नहुँदा दुःख पाएकोे बताउँछन् । रसुवाबाट आएका दर्शनार्थी धर्मचन्द्र पौडेल गाडीको असुविधाले यहाँ आउन दुःख पाइएको बताउनुहुन्छ । “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ,” उहाँले भन्नुभयो ।

मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उहाँले गुनासो गर्नुभयो । शास्त्रीय रूपमा महत्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहापाएको धेरै भक्तजन बताउँछन् ।

यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र आफ्ना पिता दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु पाल्साङ लामाले बताउनुभयो ।

बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पिताको स्वरुप दर्शन गर्न पाइने विश्वाससमेत रहेको पनि उहाँले जानकारी दिनुभयो । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजाआराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ । यसै मान्यताका कारण आज कतिपय भक्तजन गोकर्णेश्वरपछि पशुपतिनाथको दर्शनमा जाने गर्छन् । पशुपतिनाथमा बढी भीड लाग्ने हरितालिका (तीज), बाला चतुर्दशी, शिवरात्रि, साउने सोमबारलगायत पर्वमा पनि पशुपतिनाथको दर्शन गरेर गोकर्णेश्वरको दर्शन गर्न आउने भक्तजन उल्लेख्य हुने गरेका छन् ।

आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरुप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आजै मनाइँदैछ ।रासस

तस्बिर : हरिराम भेटुवाल / रासस