२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : प्रवक्ता डा महत



अ+ अ-

बागमती : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

जय नेपाल फाउण्डेशनले आज मकवानपुरको हेटौँडामा आयोजना गरेको ‘राजनीति नेतृत्वको सबक–युवा लक्षित आगामी दशक’ विषयक विचार गोष्ठीमा उहाँले महिला, मधेशी, आदिवासी जनजाति, दलितलगायत वर्ग तथा समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचन विधिबाट सुनिश्चित गरी संविधान संशोधन गर्न सकिने धारणा राख्नुभयो । ‘‘महिलाको ३३ प्रतिशत र अरू समुदायको प्रतिनिधित्व नघट्ने गरी प्रत्यक्ष निर्वाचन विधिबाट समानुपातिक समावेशितालाई सुनिश्चित गर्दै संविधान संशोधन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, ‘‘यसबाट महिलालगायत वर्गमा प्रत्यक्ष चुनाव लड्ने गरी नेतृत्वको विकास हुन्छ । एउटै दलले बहुमत ल्याउन सक्छ । यस्तो भन्दैमा पार्टीको त्यसै बहुमत आउँदैन । त्यसका लागि पार्टीका नेता कार्यकर्ता एक ढिक्का भएर जनताको घरमा पुग्नुपर्छ ।”

चुनौती स्वीकार गरेरै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग पार्टीले सरकार गठनका लागि गठबन्धन गरेको प्रवक्ता डा महतको स्पष्टोक्ति थियो । ‘‘तेस्रो दल भए पनि हामीले सरकारको नेतृत्व गर्न माओवादीलाई दिएकै हो, स्थिरता कायम हुन सकेन । त्यसैले कांग्रेसले एमालेसँग सहकार्य गर्न पुग्यो । यो सहकार्य कम चुनौतीपूर्ण छैन भन्ने कुरामा हामी प्रष्ट छौँ”, उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सांसद डा महतले अब नेपालमा केही गर्न सकिँदैन, केही हुँदैन भनेर बन्दै गरेको भाष्य चिर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘‘आजभन्दा केही वर्षअघिसम्म नेपालका दुर्गम गाउँ बस्तीमा सडक पूर्वाधार पुग्छ भन्ने कसैले कल्पना गरेको थियो ? तर आज गाउँगाउँमा सडक, स्वास्थ्य, शिक्षालगायत पूर्वाधार पुगेका छन् । त्यसैले यहाँ पनि धेरै कुराहरू सम्भव छ भन्ने कुरा युवामा बुझाउनुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले व्यवस्था मात्र फेरिएकाले अब जनताको अवस्था फेर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभयो । सामाजिक र आर्थिक विकासमा युवा शक्तिलाई सदुपयोग गर्न सकिए छिट्टै मुलुक सम्बृद्ध बन्ने जिकिर गर्नुहुँदै उहाँले युवाहरूमा बढ्दै गएको निराशा र असन्तुष्टिलाई दृष्टिगत गरेर युवा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

फाउण्डेशनका अध्यक्ष भुपेन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा कांग्रेसका तर्फ निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । रासस