४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्छौं: मन्त्री भट्टराई



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नेगरी अगाडी बढेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागि परेको बताउनु भयो । उहाँले राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रलाई योगदान दिन सक्ने जनशक्तिले नै अन्तर्राष्ट्रिय बजारमा योगदान दिन सक्ने उहाँको भनाई छ । उहाँले सिटीईभिटीलाई पुन:संरचना गर्नका लागि काम अगाडी बढाइएको भन्दै यसको पाठ्यक्रम र पुन:संरचनाका लागि आवश्यक काम गर्न दुई वटा समूह बनाएर जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सिटीइभिटीलाई हामीले पुन:संरचना गर्नुपर्छ । ०४५ सालको आवश्यकता आज ०८१ सालसम्म आइपुग्दा त्यही संस्थागत मूल्य, त्यही नीति । जसलाई अहिले पनि हामीले ऐनलाई खास संशोधन गरेका छैनौँ । नयाँ ढंगले निर्माण गरेका छैनौँ । त्यही नीतिबाट मार्गदर्शिक छौँ । म आएपछि सिटीईभिटीलाई पुन:संरचना गर्ने सोचेँ । सिटीइभिटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुन:संरचनाको लागि दुईवटा टिम बनाएर हामीले जिम्मेवारी दिएका छौँ । पाठ्यक्रममा उद्यमशिलतामा काम गरिरहेको हाम्रो पंक्तिलाई कसरी जोड्ने ?हामीले हिजोसम्म भन्ने गरेउ, नेपालीहरु पढ्ने यहाँ । तर अन्तर्राष्ट्रिय श्रम बजारमा जान सक्षम जनशक्ति तयार गर्छौ भन्यौँ हामीले । त्यहाँ नै हामी गलत भयौँ । हामीले नेपालको लागि कस्तो जनशक्ति चाहिन्छ भनेर प्रक्षपण त बारम्बार गर्‍यौँ ।’

‘तर हामीले के भन्यौँ भने हाम्रो शिक्षण संस्थाले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्ने, अन्तर्राष्ट्रिय श्रम बजारमा गएर बिक्ने जनशक्ति तयार गर्नुपर्छ भन्ने कुरा कहिल्यै पनि भन्न छोडेनौँ । तर मलाई लाग्छ साँच्चिकै शिक्षालाई सबल बनाउने हो भने प्रतिष्पर्धी जनशक्ति तयार गर्न सक्नुपर्छ । ग्लोवल टु लोकल र लोकल टु ग्लोबल कसरी लिङ्केज स्थापित गर्ने ?त्यसका लागि हामीसँग भएको जनशक्ति जसले पहिले राष्ट्रमा योगदान दिनसक्दा मात्रै उसले अन्तर्राष्ट्रिय रुपमा पनि योगदान गर्नसक्छ । त्यो खालको योगदान दिनसक्ने जनशक्ति कसरी तयार गर्ने भन्ने कुरामा अब हाम्रो बहश जानुपर्छ । अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेशनको होस् । चाहे त्यो साइन्सको होस्, चाहे टेक्नीकल एजुकेशनको होस् । सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै हामी अगाडी बढेका छौँ ।’

उहाँले शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय र श्रम मन्त्रालयका बीच समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा भनेको ज्ञान मात्रै नभइ सिप, कला र उद्यमशिलता पनि हो भन्ने कुरा स्थापित गर्नुपर्ने बताउनु भयो ।