१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

बादलुको घुम्टोले छोपेको इलाम घुम्दा … (फोटो फिचर)

बादलुको घुम्टोले छोपेको इलाम घुम्दा … (फोटो फिचर)
अ अ+ अ-

नेपाली साँगीतिक क्षेत्रमा इलामेली गीतहरुको राम्रै छाप र उपस्थिति वर्षौंदेखि छ । एकसे एक गायकहरुले इलामको बखान गर्दै गीत गाउनु भएको छ र योक्रम जारी छ । गायक यम बरालले गाएको “बादलुको घुम्टोले इलाम बजार छेपिँदा, मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा” भन्ने कर्णप्रिय गीत हरेक नेपालीको मनमुटुमा सजिएकै छ । गायक बुलु मुकारुङ र कुन्ती मोक्तानले गाएको “इलामे शहर चियाबारी राम्रो, त्यहीं पर्यो घर हाम्रो” बोलको गीत पनि उत्तिकै लोकप्रिय छ ।

प्राकृतिक रुपमा सुन्दर इलाममा के छैन ? जताततै वर्षैभरि हरियाली छ । हरिया डाँडापाखाले हरेक आगन्तुकको मन त्यसैत्यसै लोभिन्छ ।

तर इलामको परिचय यतिले मात्र पुग्दैन । यहाँका डाँडापाखामा जताततै चियाबगान देख्न सकिन्छ । चिटिक्क मिलाएर काँटछाँट गरिएका चियाका बुट्यानले बच्चादेखि बुढापाकासम्म सबैलाई लोभ्याउँछन् । मन प्रसन्न बनाउँछन् । यी बुट्यानमा लुकामारी गर्ने बादल र हुस्सुले साँच्चिकै इलामलाई स्वर्गकी अप्सरा झैं बनाएका छन् । यहाँ घुम्न आउने मानिस पनि प्रकृतिसँग नजिकबाट एकाकार हुन खोजे झैं लाग्छ ।

तल्तिर झापाको उखरमाउलो गर्मी छल्न मानिसहरु एक दुई घण्टाको मोटरयात्राबाट इलामका कुटिडाँडा, कन्याम, फिक्कल र पशुपतिनगर पुग्छन् । गर्मीले जिउभरी फोका उठे भने त्यसको प्राकृतिक दबाई अरुतिर खोज्न जानै पर्दैन, इलामतिर उक्लिए पुग्छ । त्यहाँ पुग्नासाथ शरीरका घमौरा रुपी फोकाहरु इलामको चिसोचिसो हावा र हुस्सुले पखालेर लैजान्छ, मन आल्हादित हुन्छ, जीउ फुरुङ्ग हुन्छ ।

इलामतिर कहिले घुम्न जाने ? यसको कुनै जवाफ छैन । वर्षैभरि इलाम हामीलाई स्वागत गर्न पर्खिबसेको छ भन्दा हुन्छ । जाडो होस् वा गर्मी । दुबै मौसममा इलाम घुम्न गए हुन्छ । त्यही भएर आजभोलि आन्तरिक पर्यटकहरु इलामको सेरोफेरो लगाउन वर्षैभरि देखिन थालेका छन् ।

२०७८ सालको माघ १ गते शनिबार । झापाको बुधबारेबाट झण्डै ३५ किलोमिटरको उकालो चढेपछि कन्याम पुग्दा साँझ ५ बजेको थियो । झापातिर गर्मीगर्मी महशुस भए पनि कन्याम पुग्दा त्यो हरायो । अर्कै दुनियाँमा पुगेजस्तो । कुटीडाँडादेखि बाटोमा हुस्सु लागेको थियो । चिसोचिसो हुस्सु छलेर हामी कन्याममा पुग्यौं । स्थानीय नगरपालिकाले पर्यटकलाई सुविधा दिन त्यहाँ डाँडामा सानोतिनो ठाउँ बनाएको रहेछ । अंग्रेजीमा कन्याम लेखिएको ठाउँमा झण्डै एक सय घुमन्ते धमाधम फोटो र भिडियो खिचिरहेका थिए । साँझको बत्ती बालिएका कारण वातावरण अझ रमाइलो थियो । धेरैजसो युवायुवती टिकटक बनाइरहेका थिए । साना केटाकेटी लुकामारी खेलिरहेका थिए ।

तर कन्यामको रौनक भोलिपल्ट, आइतबार बिहान देखियो । बिहानैदेखि घाम लागेको थियो । मानिसहरु बिहानैदेखि फेरि त्यहाँ जम्मा भए । राति होटलतिर बास बसेका मानिसहरु बिहान भएपछि डाँडाभरी देखिए । डाँडामा काम उही थियो । डाँडाको दुबैतिर फैलिएको चियाबगानमा फोटो सुट गर्ने, भिडियो खिच्ने, टिकटक बनाउने । टाढाटाढाका साथीभाइ, आफन्तसँग लाइभ भिडियो र च्याट गर्ने । चियाबगानमा फोटो, भिडियो खिच्न स्थानीय व्यवसायीले अनेक किसिमका पहिरनको प्रबन्ध पनि गरिदिएका थिए । झण्डै १०० वटा त यस्तै पहिरन व्यवसायी रहेछन् जसले राई, तामाङ, मगर, गुरुङ, शेर्पा लगायतका समुदायका पोशाक तथा गुन्युचोलीको व्यवस्था गरेका थिए । चियाबगान हेर्न पुग्ने अधिकाँश महिला, पुरुष र केटाकेटीहरु यी पोशाकमा सजिएका थिए ।

यही डाँडामा झण्डै ५० वटा घोडाको पनि व्यवस्था छ । मानिसहरु यी घोडामा चढेर ओहोरदोहोर गरेका देखिन्छन् । घोडा चढेबापत प्रतिव्यक्ति रु. १५० देखि रु. ३०० लिने गरेको पाइयो । यी घोडाहरु लिएर चियाबगानभित्र अलि टाढा पनि लैजान सकिने घोडा व्यवसायीले बताएका थिए ।

कन्यामको डाँडामा तीन चार घण्टा बितेको पत्तै नहुने रहेछ ।

कन्याम नजिकै कुटीडाँडामा सानो पाथीभारा मन्दिर पनि छ । कुटीडाँडाबाट माथि उकालो चढेर मन्दिर पुग्न सकिन्छ । ठाडो उकालो भएकाले वृद्ध र अशक्तलाई केही कठिन हुन्छ । तन्नेरीलाई भने त्यो ठाउँ पुग्न करिब आधा घण्टा लाग्दछ ।

कन्यामदेखि झण्डै ३ किलोमिटर अघि बढेपछि फिक्कल पुगिन्छ । यो चौबाटो हो । यहाँ हेर्नलायक दर्शनीय ठाउँ त छैनन् तर यहाँबाट इलामको सदरमुकाम इलामबजार, भारतसँग सीमा जोडिएको पशुपतिनगर, सूर्योदय हेर्न लोकप्रिय स्थान श्रीअन्तु लगायतका ठाउँ पुग्न सकिन्छ ।

पशुपतिनगर क्षेत्र अर्को दर्शनीय ठाउँ हो । फिक्कलबाट पूर्वतर्फ सवारी साधनमा करिब आधा घण्टामा पशुपतिनगर पुगिन्छ । पशुपतिनगर ठीकैको ठाउँ भए पनि त्यहाँ जाँदा बाटोको दायाँबायाँ देखिने रमणीय दृश्यलाई मानिसले जीवनमा कहिल्यै भुल्न सक्दैन । जतिपटक गए पनि मनको तिर्सना मेटिँदैन । रसिलो पहाडमा चिया बगानको सुन्दरता कन्यामको भन्दा पनि पशुपतिनगर क्षेत्रको बढी छ । हुनत मानिसहरु इलाम बजारको चियाबगानको बढी चर्चा गर्छन्, तर इलामको फिक्कल, कन्याम र पशुपतिनगर क्षेत्रको चियाबगान निकै बेजोड छ ।

त्यसैले होला, आजभोलि मानिसहरुले यिनै क्षेत्रहरुलाई बढी रोज्ने गरेका छन् ।