२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड—२०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै यस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । आगामी भदौ २८ गते हुने अवार्डका लागि कबड्डीकी मानमति बिष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ, क्रिकेटका गुल्सन झा र फुटबलकी प्रीति राई पिपल्स च्वाइसको मनोनयनमा परेका हुन् । खेलक्षेत्रमा पाएको सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गर्ने गरिन्छ ।

मानमतीले १९ औं एशियाली खेलकुदमा नेपाललाई काँस्य पदक दिलाउन महत्वपूर्ण भुमिका खेलेकी थिइन् । १२ औं सागमा एथ्लेटिक्सबाट प्रतिष्पर्धा गरेकी मानमति १३ औं संस्करणमा भने कबड्डीबाट नेपाललाई रजत पदक दिलाउन सफल भइन् । गत महिना सम्पन्न काभा महिला भलिबलमा उपविजेता र सन् २०२३ को संस्करणमा नेपालले तेस्रो स्थान प्राप्त गर्दा कविता टोलीकी सदस्य हुन् । रग्वीका श्रीराम १९ औं हाङझाउ एशियाली खेलकुद खेल्दाका टिमका मुख्य खेलाडी हुन् ।

उनले भारतको चेन्नईमा सन् २०१५ मा सम्पन्न ओलम्पिक छनोट पनि खेलेका थिए । नेपालले गत ट्वान्टी–२० विश्वकप खेल्दा उनी टोलीका महत्वपूर्ण सदस्य हुन् । नेपाललाई पहिलो पटक एसिया कपमा पुर्‍याउँदा उनले यूएईविरुद्ध एसिसी प्रिमियर कपको फाइनलमा अविजित ६७ रन बनाउनुका साथै एक विकेट लिएका थिए । १६ वर्षकै उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी प्रीतिले साउदी अरेबियामा सम्पन्न आठौं वाफ वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उक्त प्रतियोगितामा नेपाल उपविजेता बन्यो । त्यसअघि उनले सेमिफाइनलमा निर्णायक गोल पनि गरिन् ।

यसको विजेता चयन खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाकोे भोटिङबाट हुनेछ । ५० प्रतिशत मतभार रहने ईसेवाको भोटिङ शुक्रवारदेखि नै शुरु भइसकेको छ । सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजमा रहेको खेलाडीका फोटोमा लाइक), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र एनएसजेफ सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।

शुक्रवार नै मनोनयन सार्वजनिक हुनुअघि मञ्च र भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवासँग सम्झौता नवीकरण भएको थियो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र ई–सेवाका प्रमुख बजार व्यवस्थापक आशिष गौतमबीच सम्झौता भएको हो ।
यस मनोनयनमा पर्ने पाँचै खेलाडीले इसेवा केयर प्रडक्ट पनि पाउने ई–सेवाका प्रमुख बजार व्यवस्थापक गौतमले जानकारी दिनुभयो । कमलादास्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने पल्सर स्पोर्ट्स अवार्ड २०८० मा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर गरी कुल ९ विधामा अवार्ड प्रदान गरिँदैछ ।

यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई पाँच थान बजाज पल्सर मोटरसाइकल प्रदान गरिँदैछ । पिपल्स च्वाइस अवार्डका विजेताले पल्सरको एनएस ४०० सिरिज प्राप्त गर्नेछन् । यो बजाजको नयाँ बाइक हो । अन्य चार विधाका विजेताले एनएस २०० पाउनेछन् । अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, केल्मी नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) रहेका छन् ।