४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि

घरयासी कामले छोरीको बिग्रियो पढाइ

घरयासी कामले छोरीको बिग्रियो पढाइ
अ+ अ-

टीकापुर । टीकापुर नगरपालिका–१ एकतानगरकी पुष्पा सन्यासी कक्षा ६ मा अध्ययनरत छिन् । कर्णाली मावि टीकापुरमा अध्ययनरत उनी विद्यालयबाट फर्केपछि घरसफा गर्ने, भाडाकुँडा माझ्ने र कपडा धुने लगायतका घरयासी काममा आमालाई सघाउँछिन् । यसले उनीको पढाइमा असर पुर्‍याएको छ । “म घरमा आमालाई सबै काम सघाउँछु, मेरा दाजुभाइले मैलेजस्तो घरको काम गर्दैनन्”, पुष्पाले भन्नुभयो, “आमाको धेरै काम हुन्छ । घरको काम सकेर राति आफ्नो गृहकार्य गर्छु । कहिलेकाहीँ गर्न भ्याउँदिन ।”
    
कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना विक  विद्यालयपछिको समयमा घरको काममा खट्नुपर्छ । उनी आमासँगै घाँसदाउराको काममा समेत जान्छिन् । उनीको दाजुभाइले पनि घरको काम गर्नुपर्दैन । “म आमासँगै सबै काम गर्छु । खाना पकाउन, घर सफा गर्न, घाँस काट्न सबै काम सिकिसकेँ”, सम्झनाले भन्नुभयो, “छोरीले काम सिक्नुपर्छ नत्र पछि दुःख पाइन्छ भन्छन्, घरको काम गर्दा घरमा त्यति पढ्न पाइँदैन ।”

त्यस्तै, कक्षा ८ मा अध्ययनरत छात्रा सुधा धामीका दुई दाजुभाइ छन् । उनीको दाजुभाइले घरको काम पटक्कै छुनु पर्दैन । उनीहरु विद्यालयबाट फर्केपछि कि गृहकार्य गर्छन्, नभए नजिकै रहेको खेल मैदानमा खेल्न जान्छन् ।  उनी विद्यालयबाट फर्कदा घरमा काम थुप्रिसकेको हुन्छ । “म विद्यालयबाट फर्कन्छु, खाजा खाएर घाँस काट्न जान्छु, अनि साँझ खाना पकाउने जिम्मा मेरो हुन्छ”, सम्झनाले भन्नुभयो, “आमाले गाईभैँसी स्याहार गर्नुहुन्छ । दाजुभाइलाई काम गर पनि भन्नुहुन्न । म अधिकांश दिन गृहकार्य नगरेरै विद्यालय जान्छु । कहिलेकाहीँ त जानै मन लाग्दैन ।”

समाजमा अहिले पनि छोरी विवाहपछि अर्काको घर जाने भएकाले उनीको कमाइ अरुले खान्छ भन्ने गलत बुझाइले शिक्षामा विभेद गरिन्छ । कानूनले शिक्षामा समान हकको व्यवस्था गरे पनि अभिभावकले नबुझीदिँदा छोरा र छोरीलाई दिइने शिक्षामा विभेद रहेको छ । छोरीहरुलाई घरको काममा छोराभन्दा बढी लगाइँदा उनीहरुको पढाइमा समेत असर परेको छ । अभिभावक लीलावती चौधरी तुलनात्मकरुपमा घरको काममा छोराभन्दा छोरी बढी व्यस्त देखिने बताउनुहुन्छ । “छोरी पराइ घर जाने हो भन्दै छोरीले सबै कुरा माईतीमै सिक्नुपर्छ, अन्यथा दुःख पाइन्छ भन्ने सोचाइ हाम्रो समाजमा अझैँ छ”, उहाँ भन्नुहुन्छ, “यसले छोरीको पढाइमा बाधा पुर्‍याएको हुन्छ ।”
    
छोराले लालनपालन गर्ने विश्वास गरिन्छ । यसैले अलि महँगो निजी विद्यालयमा र छोरीलाई अर्काको घर जाने हो भन्दै कम खर्च हुने सामुदायिक विद्यालयमा पढाउने अभिभावक गाउँघरमा अझै छन् । अभिभावक प्रमिला चौधरी छोरा पढाएमा लालनपालन गर्ने भएकाले छोरामा गरिएको लगानी खेर नजाने बताउनुहुन्छ । टीकापुर नगरपालिकामा शैक्षिकसत्र २०७६ मा द्यिार्थीको सङ्ख्या २६ हजार ७९१ छ । ती मध्ये छात्र  १४ हजार ४७५ र छात्रा  १२ हजार ३१६ रहेका छन् । सामुदायिक विद्यालयमा मात्र छात्र  चार हजार ५८७ छ भने छात्राको सङ्ख्या छ हजार ७०० छ । संस्थागत विद्यालयमा भने छात्रको सङ्ख्या धेरै छ । छात्रा छ हजार ३०९ र छात्रको सङ्ख्या नौ हजार ८८८ छ । सामुदायिकमा छात्रा सङ्ख्या ५९ प्रतिशत छ भने संस्थागतमा ३८ प्रतिशत मात्र छ । यसले पनि सामुदायिकमा छात्राको सङ्ख्या धेरै र निजीमा कम रहेको देखिन्छ ।

सामुदायिकमा छात्रको तुलनामा छात्राले विद्यालय छोड्नेदर दुई प्रतिशतले बढी रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । “विद्यालय छोड्ने दर हेर्दा छात्रभन्दा दुई प्रतिशत बढी छात्राले विद्यालय छोडेको देखिन्छ”, शिक्षा अधिकृत नरेश अवस्थीले भन्नुभयो, “हामीले घरकै कामले छोड्छन् भन्न सक्दैनौँ, माथिल्ला कक्षामा गएर विद्यालय छोड्ने छात्रा बढी छन् । घरको कामको बोझ पनि एउटा कारण हो ।”बाबुआमाले समानरुपमा घरमा व्यवहार गर्ने हो भने छोरीको पढाइमा थप टेवा पुग्ने उहाँको सुझाव छ । रासस