• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   सहकारी छानविन समितिसँग प्रधानमन्त्रीको आग्रहः अनुहार होइन, व्यवहार हेरेर निस्कर्ष निकाल्नुस् ★   पाल्पाले पर्यटनलाई पर्याय बनाउनु पर्छ: अध्यक्ष ढकाल ★   राष्ट्रपति पौडेलद्वारा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण ★   साउथह्याम्प्टनमाथि म्यान्चेस्टर युनाइटेडको सहज जित ★   नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री ★   ‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’ ★   ‘नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ’ ★   राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित ★   गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु ★   यसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छ : प्रधानमन्त्री ओली

ताराखसे पोखरी बन्यो पर्यटकीय गन्तव्य



????????????????????????????????????

धुलिखेल । यहाँको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका छन् । स्थानीय गङ्गाबहादुर तामाङका अनुसार ताराखसे पोखरी हेर्न र घुम्नकै लागि पर्यटक आउन थालेका हुन् ।

यहाँ आउने पर्यटकहरुले पोखरी छेवैमा रहेको देवीथानको दर्शन गर्ने गरेका छन् । सो ठाउँमा पुगेर स्नान गरी देवीको दर्शन गर्दा मनोकाङक्षा पूरा हुने जनविश्वास छ । रोशी गाउँपालिका–३ का स्थानीय सुरज लामाका अनुसार गुरु रेन्पोछे ९पद्मसम्भव०ले पाइला टेकेको पवित्र ठाउँ भएकाले महाभारत लेकको टुप्पोमा रहेको पोखरीमा जस्तोसुकै खडेरीमा पनि पानी सुक्दैन । यहाँ जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्छ । जनैपूर्णिमाका दिन धामी झाँक्रीहरु सो कुण्डमा पुगेर दर्शन गरेपछि शक्ति आर्जन गर्ने बताउँछन् ।

परापूर्वकालमा ताराको टुक्रा खसेर जमिन भासिएर परेको खाल्डोमा पोखरी जमेपछि कुण्ड बनेको बताइन्छ । सो पोखरी सङ्लो रहने र कहिल्यै नसुक्ने स्थानीय बताउँछन् । गाउँपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा ताराखसे पोखरी रहेकोे रोशी गाउँपालिका–३ का वडाध्यक्ष धनजित लामाले बताउनुभयो ।

गुरु रेन्पोछे खोटाङको हलेसीबाट यात्रा गर्दै तेमालस्थित यारीनाग गुफा, महाभारत लेकको हात्ती आहाल, ताराखसे पोखरीमा पुगेर ध्यान गरेको किंवदन्ती छ । धार्मिक र पर्यटकीय दृष्टिले मनमोहक यस ठाउँको पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण सुरु गरिएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । हाल पोखरी भएको स्थानमा जान सडक, वनभोज स्थल र शौचालय लगायतका संरचना बनिसकेका छन् ।

रोशी गाउँपालिका उपाध्यक्ष मीमबहादुर वाईबाले दूई हजार पाँच सय ५० मिटरको उचाइमा अवस्थित ताराखसे लेकको विकास र पर्यटन प्रवर्द्धन गर्न पालिकाले योजनाबद्धरुपमा काम गरिरहेको बताउनुभयो । महाभारत क्षेत्र घुम्ने पदमार्ग निर्माण भइरहेको उहाँको भनाइ छ । हाल फूलचोकीदेखि ताराखसे पोखरीसम्म सिँढी निर्माण भइसकेको र त्यहाँबाट भूमेचुली जुकेपानी हुँदै सिन्धुलीको घ्याङलेकसम्मको विस्तृत गुरुयोजना तयार पारिएको उहाँले बताउनुभयो ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले ताराखसे पोखरीबारे प्रचार गर्न आग्रह गर्नुभयो । उहाँले पोखरी व्यवस्थापन र आवश्यक संरचना निर्माण भइरहेको जानकारी दिनुभयो । सङ्घीय सरकारको विशेष अनुदानतर्फ आर्थिक वर्ष २०८०र०८१ मा एक करोड बजेटबाट सिँढी, रेलिङ, शौचालय, धारा, खानेपानी ट्याङ्की, आवासस्थल र सवारी पार्किङस्थल निर्माण गरिएको छ ।

यहाँबाट वरिपरीको हरियाली डाँडाकाँडासँगै सुन्दर हिमालका दृश्य अवलोकन गर्न सकिन्छ । ताराखसे पुग्न बनेपाबाट नमोबुद्ध–दाप्चा–गहते–फलामे साँघु–शिखर आम्बोट–साँझकोट–निङ्गालेहुँदै जानुपर्छ ।