२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँक्रो खेतीबाट मनग्य आम्दानी



अ+ अ-

इलाम । सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा रु ३० देखि ९० सम्ममा बिक्री हुन्छ । वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य हामीले दियौँ ।”

काँक्रो लगाउँदा रु एक लाख ५० हजार खर्च भएको उहाँले बताउनुभयो । “रु छ–सात लाख आम्दानी भयो होला”, उहाँले भन्नुभयो, “हाम्रो गाउँमा धेरै किसानले काँक्रो लगाएका थिए । प्रायः सबैजसो किसानले कम्तीमा चार–पाँच सय काँक्रो बिक्री गरेका छन् ।”

काँक्रोबाट आम्दानी राम्रो हुने भएकाले यो क्षेत्रका धेरै किसानले हरेक वर्ष खेती गर्ने गरेको किसान गड्तौलाले बताउनुभयो । सूर्योदय–१२ कै योगेन्द्र राई र सञ्जय राईले पनि काँक्रोखेती गर्नुभएको छ । “सुरुमा खडेरीले अलि सतायो, सिँचाइ कम भयो तर पनि दुई हजारजति काँक्रो फल्यो होला”, उहाँले भन्नुभयो ।

अहिले सूर्योदयका वडावडामै कच्ची भए पनि बाह्रै महिना सवारीका साधन सञ्चालन हुनसक्ने सडक भएकाले गाउँगाउँबाट किसानलाई तरकारी बिक्री गर्न धेरै सजिलो छ । उत्पादन भए पनि ढुवानी गर्न नसक्दा बारीमै कुहिने बाध्यता भने किसानलाई धेरै टरेको पाइन्छ ।

अघिल्लोपटकको स्थानीय सरकारले नै नगरका १४ वटै वडामा ‘एक वडा–एक सडक’ को नीति लिएर थालेको कम्तीमा तीन किलोमिटर कालोपत्र सडक निर्माणको काम अहिले पनि भइरहेको छ । दोस्रो कार्यकालमा आएको नगर कार्यपालिकाले पनि अघिल्ला काम र योजनालाई निरन्तरता दिइरहेको छ । सबै वडाका सडकमा अहिले पनि नाली, ग्राभेल, पर्खाल र केही ठाउँमा कालोपत्रको काम भइरहेको छ ।

अठार किलोमिटर कालोपत्रको काम भइसकेको सूर्योदय नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताउनुभयो । यस्तै, अहिलेसम्ममा एक सय ३० किलोमिटर ग्राभेल सम्पन्न भएको संयोजक शर्माले जानकारी दिनुभयो ।

बाह्मासे सडकका लागि प्रत्येक वडाले बर्सेनि कम्तीमा रु ५० लाख बजेट विनियोजन गर्ने गरेका छन् । आवश्यकतानुसार वडाले रु एक करोडसम्म बजेट छुट्याउने र त्यसमा नगरपालिकाले पनि थप गर्दै गएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।

“कृषिजन्य उत्पादन गाउँमा छ, त्यसलाई बजारसम्म ढुवानी गर्न बाटो छैन, आफूले उत्पादन गरेको कृषि उपज कुहिएर नाश हुँदा सर्वसाधारणले आर्थिक क्षति व्यहोर्नुपरेको छ । अब विस्तारै गाउँमा सहज यातायातको पहुँच पुग्न थालेको छ”, उहाँले भन्नुभयो, “यातायात र ढुवानी अभावमा अब सूर्योदयका किसानले उत्पादन गरेको कृषि उपज नोक्सान हुन पाउने छैन, किसानले सहज रूपमा बजारसम्म पुर्याउन सक्ने भएका छन्, यसमा हामीलाई गौरव छ ।”

वर्षायाम सुरु भएपछि विगत वर्षमा सडक हिलाम्मे भएर यातायात सुविधा नहुँदा यहाँका किसानले उत्पादन गरेको गोलभेँडा, इस्कुस, अकबरे, काँक्रो, बन्दालगायत कृषि उत्पादन बारीमै कुहिने गरेको थियो । सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन् । मलिममा अहिले गोलभेँडा राम्रो रहेको र आफैँले ढुवानी सेवा दिँदै आएको अर्का किसान राम राईले बताउनुभयो ।

“मलिम पुछार, बिरिङखोला नजिकसम्मै गाडी जान्छ, असारेटार, लेप्चा गाउँदेखिका गोलभेँडा र अन्य तरकारी उठाउने गरेको छु”, उहाँले भन्नुभयो, “यस वर्ष त कसैको तरकारी कुहिएन, सबै किसानले फलाएको तरकारी राम्ररी बिक्री गर्न पाएका छन् । हामीले यो तरकारी झापा पुर्याएर बिक्री गरेर आएर, पैसा दिने गरेका छौँ ।” यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउली, इस्कुसका टुप्पा, फर्सीका टुप्पालगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन् । रासस