• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौं ।भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको थियो ।

मन्त्री डा राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको थियो । आज दिउँसो उहाँहरूबीच भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यका बारेमा छलफल भएको थियो ।

उक्त शिष्टाचार भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री राणासहित भारतका लागि नेपालका कार्यवाहाक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिष्टर काउन्सिलर द्रौपदा सापकोटा रहनु भएको थियो ।

भारतको तर्फबाट उक्त शिष्टाचार भेटमा मोदीसहित, विदेशमन्त्री एस। जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव रहनु भएको थियो ।

भेटपछि परराष्ट्रमन्त्री राणाले सामाजिक संञ्जालमा लेख्नु भएको छ- भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।

भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएको हो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कनुहुनेछ ।