९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अमेरिकाको कोलम्बसमा नेपथ्यको भब्य प्रस्तुति

अमेरिकाको कोलम्बसमा नेपथ्यको भब्य प्रस्तुति
अ अ+ अ-

कोलम्बस (ओहायो): राणाशासन विरोधी अभियानका बेला गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्जे’सँग नन्दू खतिवडाको खासै साइनो छैन । डेढ वर्षको उमेरमा भुटानबाट लखेटिएर बाबुआमासँगै नेपाल आएका उनी १९ वर्ष पुगेपछि शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगे । अहिले ३१ वर्ष पुग्दा उनलाई कुनै कुराको लालसा छ भने त्यो हो – नेपालित्वको ।

यो शनिबार बेलुकी हलभरि नेपाली राष्ट्रिय झण्डा फहराएर उफ्रिरहेका मानिसहरूको भिडमा नन्दू पनि उत्तिकै आनन्दसाथ नाचिरहेका देखिन्थे ।

‘नेपाली पहिचानमै आधारित नेपथ्यले मेरो जीवनमा कति महत्व राख्छ भनेर साध्य छैन,’ उनी बताइरहेका थिए, ‘उमेरले मेरा बाभन्दा जेठा भइकन पनि लोकभाका गाउँदै छमछमी नाच्ने अमृत दाइको ऊर्जा देखेर मैले आज आँसु थाम्न सकिनँ ।’

झापाको खुदुनाबारीमा हुर्केका नन्दू नेपथ्यका गीत आफ्ना निम्ति धार्मिक मानिसलाई भजन भनेजस्तै प्रिय रहेको बताउँछन् ।

‘दुई घन्टासम्म मलाई ध्यानमा बसेजस्तै भइरह्यो,’ पत्नीसहित आएका उनले थपे, ‘आजको साँझ मैले जीवनकै एउटा महत्वपूर्ण क्षण अनुभव गरेँ ।’

 कन्सर्ट अवधिभर नन्दूजस्तै रमाएका दर्शकहरूले भरिएको सिङ्गै ‘केम्बा लाइभ’ हल ध्वनि, प्रकाश र खचाखच भिडको उत्साहले उचालिएको थियो ।

 अमेरिकाको पश्चिमी भेगमा अघिल्ला दुइवटा कन्सर्ट सम्पन्न गरेर मध्यपश्चिमी राज्य ओहायोको राजधानी कोलम्बस आइपुगेको नेपथ्यको तेस्रो प्रदर्शन पनि उत्तिकै भव्य रूपमा सम्पन्न भएको छ । 

१५ औं शताब्दीका प्रसिद्ध अन्वेषक क्रिस्टोफर कोलम्बसको सम्झनामा यो सहरको नामकरण गरिएको हो । दुई सय वर्ष पुरानो यस सहरमा साढे दुई दशकयताका तथ्यांकहरूले देखाएअनुसार अन्य जातिको तुलनामा एसियाली तथा दक्षिण अमेरिकी मुलुकका आप्रवासीहरूको जनसंख्या उल्लेख्य वृद्धि भइरहेको छ ।

 पुनर्वास कार्यक्रम अन्तर्गत नेपाली भाषी भुटानी शरणार्थीहरूको सबैभन्दा ठूलो संख्यालाई अमेरिका ल्याइएको थियो, जसमध्ये झण्डै एक तिहाइको बसोबास यसै राज्यमा देखिन्छ । त्यसबाहेक पनि नेपालीहरूको यहाँ उल्लेख्य उपस्थिति छ । यसरी आप्रवासीहरूको संख्या बढेसँगै त्यसै अनुपातमा आफ्नो पहिचान र संस्कृतिको पनि खोजी बिस्तारै बढ्न थालेको स्थानीयहरू बताउँछन् ।

 ‘हाम्रै कतिपय नेपालीले अमेरिकामा आफ्ना केटाकेटीलाई नेपाली नसिकाएको पनि भेटेँ,’ कन्सर्टको मध्यतिर अमृतले भावुक हुँदै भनेका थिए, ‘बालबालिकालाई उनीहरूको जरासँग जोड्न र अरु केही नभए पनि उनीहरूका हजुरबा–हजुरआमासँग संवाद गर्नकै लागि पनि नेपाली बोल्न लगाउनुस् है ।’

 निर्धारित समय अनुसारै कन्सर्ट बेलुकी ठीक आठ बजे सुरु भएको थियो । ‘कोशीको पानी यो जिन्दगानी’बाट सुरु भएको प्रस्तुति नेपथ्यका सार्वकालिक हिट गीतहरू हुँदै ‘शिरफूल शिरैमा’, ‘नैनताल’ र ‘पचासै वर्षमा’ जस्ता नयाँ गीतहरू हुँदै अघि बढेको थियो । अन्तिम लहरमा प्रस्तुत गीतहरू ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्जे’सँगै कार्यक्रम चरमोत्कर्षमा पुगेको थियो ।

‘कहिल्यै बिर्सन नसकिने गरी अविस्मरणीय साँझ बन्न पुग्यो,’ मनोज सिवाकोटीले नेपाली झण्डा बोकेको सामूहिक तस्बिरसहित फेसबुकमा लेखेका छन्, ‘कस्तो जोडदार प्रस्तुति ।’

 यो कन्सर्ट हेर्नकै निम्ति मिसौरीको सेन्ट लुइसबाट सात घन्टा गाडी हाँकेर अमेरिकी श्रीमतीका साथ प्रकाश जोशी कोलम्बस आइपुगेका थिए ।

‘केही वर्षअघि पाटन दरबार स्क्वायरमा नेपथ्य कन्सर्ट हेर्न खोज्दा अत्यधिक भिडले बीचैमा फर्किनुपरेको थियो,’ नेपालमा महेन्द्रनगर घर भएका सफ्टवेयर इन्जिनियर जोशी भन्दै थिए, ‘त्यतिबेलै नेपथ्यको कन्सर्ट जसरी पनि हेर्ने अठोट बोकेको मैले आज चिताएभन्दा राम्रोसँग जीवनकै गजब क्षण अनुभव गर्न पाएँ ।’

उनले यति भन्दै गर्दा कार्यक्रम व्यवस्थापन क्षेत्रमा कार्यरत उनकी श्रीमती साइ मेकेन्जीले थपिन्,’ मैले जीवनमा धेरै कार्यक्रम हेरेको छु, आयोजनामा काम गरेको छु, तर जुन ऊर्जा कलाकार र दर्शकबीच महसुस भयो, त्यो बिरलै पाइने अनुभव हो । ‘द इनर्जी एन्ड भाइब्स वास अमेजिङ ।’ जाँदा जाँदै उनले भनिन्, ‘अमेरिकामा बस्ने धेरैको मुहारमा मुस्कानभन्दा तनाव छाएको देख्छु, यो प्रस्तुतिले धेरैको मुहारमा मुस्कान र मनमा उल्लास ल्याएको देखेँ ।’

 नेपालमा लामो समय पत्रकारिता गरेकी मीना कैनीले यसअघि पनि बारम्बार नेपथ्य अनुभव सँगालिसकेकी थिइन् ।

‘यी गीतहरू सुनिरहँदा र अमृत गुरुङले त्यसलाई अथ्र्याइरहँदा, म नेपालकै फरकफरक भूभागमा पुगेको महसुस गर्छु,’ गत वर्ष टोरोन्टोमा समेत नेपथ्य कन्सर्ट हेरेकी मीनाले थपिन्, ‘नेपाल बस्दा सुनेका यी गीतहरू यति पर आएर सुनिरहँदा मलाई फेरि पुरानै क्षणमा फर्किएको मिठासले छोप्छ ।’

पछिल्लो समय विदेशमा जीवनयापन गरिरहँदा यी गीतहरू आफ्ना लागि झनै अर्थपूर्ण बन्दै गएको उनले बताइन् ।

 ‘हलमा दर्शकहरूको प्रतिक्रिया हेरेरै म यो ब्यान्डको लोकप्रियता अनुमान गर्न सक्छु,’ केम्बा हलका प्रोडक्सन म्यानेजर जोय पास्तरनाकको प्रतिक्रिया थियो, ‘मञ्चबाट गाएका सबै गीत तल सबैले गाएर सुनाइरहेको अनि हरेक गीतमा हात उचालेर तालसँगै हल्लिरहेका दर्शकको ऊर्जावान दृश्यले मलाई पनि यो कन्सर्ट रमाइलो लाग्यो ।’

 कन्सर्टमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

 ‘कन्सर्टका बेला दर्शकहरूले हल्लाइरहेका राष्ट्रिय झण्डाको लहरै देखिँदा मेरो शरीरमा काँडा उम्रिरहेका थिए,’ आयोजक टोलीका लाल चौहानको प्रतिक्रिया थियो, ‘नेपथ्यलाई सफलतासाथ प्रस्तुत गर्न पाउनु र नेपाली भाषीहरूबीच यो बृहत्, सभ्य र भव्य संगीत प्रवाहको मध्यम हुन पाएकामा हामी आयोजक गौरवान्वित छौँ । एउटा सपना पूरा भएजस्तो लागिरहेको छ, जसका निम्ति म ब्यान्डप्रति आभारी छु ।’

 अमेरिका यात्राको अघिल्ला तीन कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब चौथो प्रस्तुतिका लागि नेपथ्य टेक्सास प्रस्थान गर्नेछ । उक्त राज्यको सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुन लागेको हो । यसपाला ब्यान्डले त्यहाँको ‘टोयोटा म्युजिक फ्याक्ट्री’मा आफूलाई उभ्याउँदै छ । विशाल एवं भव्य यो आयोजना स्थलमा टेक्सासका दर्शकहरूलाई अगस्त २४ तारिख रमाइलो साँझ प्रदान गर्ने अठोट ब्यान्डले लिएको छ ।

डालासपछि न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा कन्सर्ट गरेपछि यस वर्षको शृंखलाबद्ध अमेरिकी यात्राले विश्राम लिनेछ ।

फोटो: दिपित राज / नेपालय