• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

सोलुको थामेमा तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन सञ्चार मन्त्री गुरुङको निर्देशन



file photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।

हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामे सञ्चार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि मन्त्री गुरुङले तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिनुभएको हो । गत साउन ३१ गते दिउँसो आएको बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएको छ । बाढीले विद्युत् गृहमा क्षति पुर्‍याएपछि सो गाउँमा विद्युत्, टेलिफोनलगायत सेवा अवरुद्ध छ ।

बाढीका कारण खुम्बु बिजुली कम्पनीको हेडवक्र्समा क्षति पुग्न गई विद्युत् सेवा अवरुद्ध हुँदा सो गाउँपालिका–३, ४ र ५ मा विद्युत् तथा सञ्चार सुविधा अवरुद्ध भएकाले वैकल्पिक ऊर्जाको व्यवस्था गरी सञ्चार सुविधा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधिले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । स्थानीय जनप्रतिनिधिले सो विषयमा जानकारी गराएपछि मन्त्री गुरुङले त्यस क्षेत्रका सञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेललाई फोन गरी वैकल्पिक ऊर्जामार्फत तत्काल सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।