• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्याउनुपर्छ: सांसद शेर्पा



काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले हालै सोलुखुम्बुको थामेमा गएको बाढी जलवायु परिवर्तनकै असर भएको बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका समस्या बढ्दै गइरहने तर सरकारले आवश्यक तयारी नगर्ने कुरा राम्रो नभएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनबाट नेपाललाई परेको असरबारे सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मजबुत भइ मुद्दा उठाउनुपर्ने बताउनु भयो । उहाँले अध्ययन अनुसन्धान दिनहुँ हुने तर नागरिकलाई पूर्वसुचित गर्न नसक्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा क्लाइमेट चेन्जको असर धेरै देखिने गरेको छ र क्लाइमेट चेन्जको असरलाई हामीले अन्तर्राष्ट्रिय मञ्चमा कसरी प्रश्तुत गर्ने भन्ने विषयमा नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु । सरकार कसरी अघि बढ्ने भन्नेमा पनि दुविधामा छौँ । अब हामी यो समस्यालाई लिएर अन्तर्राष्ट्रिय मञ्चमा पनि क्लाइमेट चेन्जको बारेमा भन्नुपर्ने अवस्था देखिन्छ ।’

‘क्लाइमेट चेन्जको रुपमा जाँदा विज्ञले कार्यपत्र प्रश्तुत गर्छ, एउटा अध्ययनको प्रक्रिया हुँदै गर्छ । अध्ययनको प्रक्रिया हुँदै गर्दा पनि हामीले नेपालमा भएका जतिपनि अध्ययनहरु छन्, त्यो अध्ययनको सन्दर्भमा हामीले जनतालाई सुसुचित गर्न सकिरहेका छैनौँ । कुन पोखरीको अवस्था कस्तो छ, के छ ? यहाँ एन्जिओहरु च्याउ फलेको सरह छ । अध्ययन च्याउ फले जस्तो छ । कुन पाखेरी खतरा र सुरक्षित कुन छ भनेर हामीले प्रश्न गर्ने हो भने सरकारसँग त्यो डकुमेण्ट छैन । नेपालमा गरिने सबै अनुसन्धानको डकुमेण्ट सबैभन्दा अगाडि सरकारलाई उपलब्ध गराउनु पर्छ ।’

सांसद शेर्पाले जलवायु परिवर्तन सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय रुपमा दह्रोसँग उपस्थित हुनेगरी अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्याउनुपर्ने बताउनु भयो ।