• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

डिजिटल बैंकिङ कारोबारलाई ऐनमार्फत व्यवस्थित गर्न सांसदहरुको जोड



काठमाडौँ । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा डिजिटल बैंकिङ कारोबारलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने सांसदहरुले बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफलमा बोल्दै अधिकांश सांसदहरुले यस्ता बताएका हुन् ।

उनीहरुले पछिल्लो समय डिजिटल कारोबारमा ठगी बढिरहेको भन्दै बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा डिजिटल कारोबारको विषयलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताए । सांसदहरुले डिजिटल कारोबारलाई व्यवस्थित बनाउनसके चेकबाट हुने कारोबार पनि कम हुनसक्ने धारणा राखे । सांसदहरुले कानूनमा वित्तीय सुशासनको विषयमा छुट्टै परिभाषित गर्नुपर्ने बताए । उनीहरुले बैंकिङ कसुर तथा सजाय सम्बन्धि कानून बनाउँदै गर्दा मुलुकको वित्तीय प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउने गरी ल्याउनुपर्नेमा जोड दिए ।

सांसदहरुले बैंकिङ प्रणालीमा असर पर्ने खालका गतिविधिलाई रोक्ने गरी कानून संशोधन गर्न जरुरी रहेको बताए । समितिमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले कानूनमा वित्तीय सुशासनको व्याख्या गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले बैंकको ऋण मिनाह गरिदिन्छु भन्नेका पछाडी मानिसहरु लाग्न थालेको बताउनु भयो । उहाँले बैंकिङ प्रणाली र वित्तीय प्रणालीको लागि ठूलो सामाजिक बेथिति भएको धारणा राख्नुभयो । सांसद श्रेष्ठले वित्तीय प्रणालीमा परम्परागत रुपमा सुधार आउन नसक्ने भन्दै बैंकिङ कारोबार डिजिटलाइज हुनुपर्ने बताउनु भयो ।

नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले बैंकिङ कसुर तथा सजाय ऐनमा अदालतले गर्ने स्पष्ट बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले बैंकका ग्राहक सुरक्षाका विषय भएपनि ऐन संशोधनमा केही नबोलेको भन्दै सर्वसाधरणलाई बैंकिङ अपराधको विषयमा जानकारी हुन आवश्यक रहेको बताउनु भयो । उहाँले बैकिङ प्रणाली डिजिटलमा गइरहेको तर पछिल्लो समय बैंकिङ कारोबारमा अपराधहरु बढ्दै गएको बताउनु भयो । उहाँले ऐन संशोधनमा साइबर र बैंकिङ अपराधको विषयमा विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद छिरीङ डम्डुल लामाले डिजिटल कारोबारलाई व्यवस्थित गर्ने गरी ऐन बनाउनुपर्ने बताउनु भयो । उहाँले डिजिटल कारोबार सबै निकायमा गर्नसके मात्रै बैंकिङ अपराध कम हुने उल्लेख गर्नुभयो । उहाँले ठूलो व्यापारी र ठूला नेताले मुलुकबाहिर लगानी गरेको भन्दै नेपालको रकम बाहिर लैजान नसक्ने कानून बनाउनु आवश्यक रहेको बताउनु भयो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद मेटमणी चौधरीले डिजिटल कारोबारलाई व्यवस्थित बनाउने गरी कानून संशोधन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सामान्य पढे लेखेकाहरुले पनि डिजिटल कारोबारमा पहुँच राख्नेगरी कानूनी व्यवस्था समावेश गरी ऐन आउनुपर्नेमा जोड दिनुभयो । उहाँले बजारमा पैसा जान नसक्नुको कारण बैंकका कर्मचारीहरुले स्वीकृत गर्न नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले ऋण दिँदा बैंकका सम्पूर्ण कर्मचारीहरु प्रहरी हिरासतमा जानुपर्ने अवस्थाले ऋण प्रवाहमा समस्या रहेको बताउनु भयो ।

उहाँले ऋण दिँदा कमिसन खानेलाई कारबाही गर्नुपर्ने तर बैंकका सबै कर्मचारी प्रहरी हिरासतमा जानुपर्ने प्रावधानलाई सच्याउन आवश्यक रहेको बताउनु भयो ।