३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै डम्बर



अ+ अ-

राँझा । जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायन नेपालगञ्जमा सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै आउनुभएको छ ।

गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुख्र्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँले परम्परागत जातीय पेसाबाट आफ्नो चारजनाको परिवारको गर्जो टार्ने गरेको बताउनुभयो ।

काँधमा कालो झोला, गलामा सारङ्गी भिरेर नेपालगञ्जका विभिन्न गाउँ घुम्ने डम्बरले सारङ्गी रेटेर गीत गाउँदै दैनिक रु पाँच सयदेखि रु सात सयसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । नेपालगञ्जमा मात्र नभई कोहलपुर, खजुरा, सुर्खेतको वीरेन्द्रनगर, छिन्चु, बर्दियाको गुलरिया, भुरीगाउँ, बाँसगढी, दाङको लमही, घोराही र तुलसीपुरमा समेत पुग्ने गरेको उहाँले बताउनुभयो ।

बाह्र वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै आउनुभएका डम्बर परिवारको हातमुख जोड्नका लागि सारङ्गी रेट्दै नेपालगञ्ज छिर्नुभएको हो । उहाँले गीतमार्फत आफ्नो दु:खेसो पोख्दै सहयोगका लागि आग्रह गर्नुहुन्छ ।

“सहरमा हाम्रो गीत कसैले सुन्छन्, कसैले वास्तै गर्दैनन् । जसोतसो घरखर्च सङ्कलन हुँदै हाएको छ”, डम्बरले भन्नुभयो”, “मागेर खान नभई आफ्नो संस्कृति र पेसालाई जोगाउन सारङ्गी रेट्दै विरहका गीत गाउने गरेको छु । यो पेसाबाट मलाई गर्व महसुस हुने गर्दछ ।”

बीचमा केही वर्ष रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेको बताउँदै उहाँले पछिल्लो सात वर्षदेखि निरन्तर सहर बजारमा एक्लै सारङ्गी रेटेर जीविकोपार्जन गर्दै आएको जानकारी दिनुभयो । सूचना र सञ्चारको पहँुचसँगै ग्रामीण क्षेत्रमा पाश्चात्य गीतसङ्गीतको प्रभाव बढ्दै गइरहेका उहाँको बुझाइ छ ।

सहरमा सारङ्गी रेटेर विरहका भाकासँगै डम्बरले विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीतसमेत गाउँदै आउनुभएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–४ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्दै आउनुभएका डम्बरले बदलिँदो समयसँगै नयाँ पुस्ताले पुख्र्यौली पेसाबाट जीविकोपार्जन सम्भव नदेखेपछि अन्य पेसा अङ्गाल्दै गएका बताउनुभयो ।

समसामयिक अवस्थालाई सरल शब्दमा सर्वसाधारणले बुझ्ने गरी गीतको माध्यमबाट व्यक्त गर्ने पुख्र्यौली पेसा अहिले विस्थापित हुँदै गएकामा डम्बरले चिन्ता व्यक्त गर्नुभयो । कुनै दिन बम्बईका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि विभिन्न युद्धमा वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज देखिन छाडेका उहाँको भनाइ छ ।

रेडियो, पत्रपत्रिका, टेलिभिजन, मोबाइलफोनलगायत अत्याधुनिक सूचना प्रविधिको विकासले आफुहरुले पुख्र्यौली पेसा परिवर्तन गर्न बाध्य भएको डम्बरले गुनासो गर्नुभयो । नेपाली मौलिक लोक संस्कृति र पुख्र्यौली पेसा संरक्षण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस