१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक

सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला

सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला
अ अ+ अ-
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलतमा जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरु सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् । गाउँपालिकाले यहाँ विभिन्न खालका सीपमूलक तालिम सञ्चालनमा पहल थालेपछि महिलालाई उद्यममा जोडिन सहजता भएको छ । वडा नं ६ कोटमा ढाका बुनाइसम्बन्धी दुई तहको तालिम प्रदान गरेपछि महिला उद्यममा जोडिएका हुन् । तालिममा सिकेको सीपको सदुपयोग गर्दै उनीहरुले अहिले घरमा ढाकाका कपडा बुन्दै आएका छन् ।
तालिममा सिकेको कुरालाई व्यावहारिकता दिन अहिले घरमा नै तान राखेर ढाकाबाट कपडा बुन्दै आएको स्थानीय शान्ता श्रेष्ठले बताउनुभयो । आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ । ढाका बुनाइ व्यवसायबाट घर खर्चको जोहो गर्न सहजता भएको उहाँले बताउनुभयो । “वडामा नै ढाका बुनाइ सीप पाएपछि कपडा बुन्दै आएकी छु”, उहाँले भन्नुभयो, “चुलोचौका र मेलापात गरेर नै दिन बित्थ्यो, सीप पाएपछि काम गर्न सहजता भएको छ, यहाँबाट आएको पैसाले घर खर्चसँगै आफूलाई आत्मनिर्भर बन्न टेवा पुगेको छ ।”
आफ्नै ठाउँमा सीप लिएर ढाका बुनाइको काम गर्न पाउँदा खुसी लागेको स्थानीय लीला विश्वकर्माले बताउनुभयो । सीपले मानिसलाई जीवन निर्वाहको आधार खडा गर्ने उहाँले बताउनुभयो । सीप पाएपछि जस्तो परिस्थितिको पनि सामना गर्ने आँट आएको उहाँको भनाइ छ । सीपले आत्मनिर्भर बन्न सहजता थपेको उहाँले बताउनुभयो । “सीपले जीवन गुजारा गर्न सहजता हुने रहेछ”, उहाँले भन्नुभयो, “सिकेको सीपको सदुपयोग गरेर अहिले घरमा नै ढाका कपडा बुन्दै आएकी छु, दुई चरणको तालिम पाएपछि काम गर्न थप सहज बनेको छ ।”
ढाका कपडाको बजारमा राम्रो माग रहेको विश्वकर्माले बताउनुभयो । ढाकाको हातले बुनेको चोलो रु एक हजार पाँच सय, सल रु एक हजार दुई सयमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । पाँच महिनासम्म सञ्चालन भएको तालिमबाट चोलो, सर्ट, कुर्थासुरुवाल, सल, खादालगायतका कपडा बुन्न सीप लिएको उहाँले बताउनुभयोे ।
स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको अर्की महिला कोपिला प्रधानले बताउनुभयो । सीप नहुँदा व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज भएको उहाँको भनाइ छ । “सीप नहुँदा कुनै पनि काम गर्ने साहस थिएन”, उहाँले भन्नुभयो, “घरधन्दा र खेतबारीको काम गरेर नै दिन बित्थ्यो, वडाले तालिमसँगै ढाका बुनाइको सामग्री दिएपछि आफैँ स्वरोजगार बनेकी छु, घरको कामलाई पनि ध्यानमा राख्दै कपडा बुन्ने गरेकी छु ।” पहिलो चरणमा सीप लिन इच्छुक यहाँका १४ जना महिलालाई आधारभूत तालिम दिइएको थियो । त्यसैको निरन्तरता स्वरुप दोस्रो चरणमा पुन: उनीहरुलाई अर्को दोस्रो तहको सीप प्रदान गरेपछि उद्यममा जोडिएका हुन् ।
वडाले यहाँका महिलालाई स्वरोजगारसँगै उद्यमशील बनाउने लक्ष्यले दुई तहको तालिम प्रदान गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । तालिम लिएका महिला अहिले उद्यममा जोडिएको उहाँको भनाइ छ । महिलाहरुलाई घरायसी कामभन्दा पनि सीपमूलक कर्ममा जोड्नका लागि रचानात्मक काम गरिरहेको वडाध्यक्ष नेपालको भनाइ छ । “हामीले महिलालाई स्वरोजगारसँगै उद्यममा जोड्नका लागि तालिम प्रदान गरेका हौँ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “सीप लिएसँगै उहाँहरु अहिले उद्यममा जोडिएको अवस्था छ, वडाले रोजगारी सिर्जना हुने खालका काममा प्राथमिकता दिएको छ ।”
महिलालाई उद्यमशीलतामा जोड्नका लागि सबै वडामा विभिन्न खालका सीपमूलक कार्यक्रम सञ्चालन रहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । सीप सिकाएर महिला तथा युवाहरुलाई स्वरोजगारमा जोड्नका लागि गाउँपालिकाले जोड दिएको उहाँको भनाइ छ । वडासँगको समन्वयमा महिलालाई लक्षित गरेर वडा नं ६ कोटमा दुई चरणको ढाका बुनाइ तालिम, वडा नं ५ खावा र वडा न ७ मा सिलाइकटाइ तालिम, वडा नं ३ मा तरकारीखेती तालिम, वडा नं ४ नागीमा सेनिटरी प्याडसम्बन्धी तालिम सञ्चालन गरिएको उपाध्यक्ष राईले बताउनुभयो ।
त्यस्तै, एकल महिलालाई सातदिने तरकारीखेती तालिम, सीमान्तकृत महिलालाई पशुपालनसम्बन्धी तालिम र ३० जना महिलालाई पालिकास्तरीय बेमौसमी तरकारीखेतीसम्बन्धी तालिम दिएको उहाँले जानकारी दिनुभयो । वडा नं ८ गोगने र वडा नं ९ लेखर्कमा यो आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । “हामीले महिला उद्यमशीलतामा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “महिलालाई लक्षित गरेर वडाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्, भावी दिनमा पनि यस्ता खालका कार्यक्रम सञ्चालनमा ध्यान दिन्छौँ ।” गाउँपालिकाले यहाँको सम्भावनालाई ध्यानमा राखेर कृषि र पर्यटनमा प्राथमिकताका साथ काम गरिरहेको उहाँले बताउनुभयो । रासस