६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रचण्डविरुद्ध जनार्दनले हानेको कागजी बमले माओवादीलाई कहाँ पुर्‍याउला ?

प्रचण्डविरुद्ध जनार्दनले हानेको कागजी बमले माओवादीलाई कहाँ पुर्‍याउला ?
अ+ अ-

काठमाडौं । लामो समयसम्म सत्तामा रजाइँ गरेर बसेको तर अहिले प्रतिपक्षी कित्तामा पुगेको नेकपा माओवादी केन्द्र समीक्षामा केन्द्रीत छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेताहरुबीच आरोप–प्रत्यारोप मात्र छैन, तिखा र काल्पनिक कुरा गर्ने क्रम पनि उत्तिकै छन् । अधिकांश नेताहरुले अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीलाई लिएर आलोचना गरेका छन् । तर उनलाई तत्काल पद छाड्न भने कसैले दबाब दिन नसकिरहेका बेला उपमहासचिव जनार्दन शर्माले कडा प्रहार गरेका छन् ।

उपमहासचिव शर्माले दाहाललाई पार्टीको नेतृत्व हस्तान्तण गर्न भने भनेका छैनन्, पार्टी चलाउन असफल भएको आरोपसमेत लगाएका छन् । माओवादीभित्र यसरी प्रचण्डविरुद्ध सिधै औंला ठड्याएर असफलताको ट्याग भिराउनेहरु जनार्दनबाहेक अरु छैनन् । अरु नेताहरुले जनार्दनले राखेको धारणालाई लिएर आश्चर्यचकित भएका छन् । स्वयम् प्रचण्ड अबाक बनेका छन् । उनले जनार्दनको कदमलाई पार्टी विभाजनको संकेतका रुपमा समेत बुझेको हुन सक्छ । किनकी यसअघि पनि माओवादीमा प्रचण्डविरुद्ध विष बमन गर्नेहरु कहिल्यै कोही टिएको इतिहास छैन ।

राज्यसत्ताविरुद्ध २०५२ सालमा तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र संघर्ष थाल्दा प्रचण्ड नै एकछत्र नेता थिए । मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापाजस्ता नेताहरूको त्यसपछिको वरियताक्रममा गणना हुन्थ्यो । तर, उनीहरूसँग दाहाल बलियो तवरले फरक मत राख्नसक्ने स्थिति थिएन ।

जनार्दन शर्मा उतिबेला गण्डक क्षेत्रको सैन्य नेतृत्व गर्थे र सेती–महाकाली इन्चार्ज मात्रै थिए । १० वर्षे युद्ध र त्यसपछिको शान्ति प्रक्रिया र सत्ता यात्रापछि उनी जनार्दन अहिले प्रचण्डलाई टक्कर दिने अवस्थामा आइपुगेका छन् ।

यो पनि पढ्नुहोसजनार्दनको आरोप–खुमलटारबाटै जनार्दन एमाले जाँदैछ, पार्टी फुटाउँदैछ भन्ने हल्ला चलाइयो

किनकी यसअघि प्रचण्डलाई चुनौती दिन सक्ने नेताहरु अहिले कोही पनि बाँकी छैनन् । वैद्य, भट्टराई र थापा जस्ता नेताहरु पार्टी छाडेर बाहिरिइसकेका छन् । प्रचण्डलाई राजनीतिक रुपमै चुनौती दिन सक्ने नेताको रुपमा हेरिएका नेत्रविक्रम चन्द पनि फरक दल खोलेर बसेका छन् ।

यसरी आफ्ना सहयात्रीहरु एक एक गर्दै बाहिरिँदै गरेका बेला प्रचण्डको पार्टी भने झन् कमजोर बनेको छ । उनलाई भएका नेताहरुलाई एकजुट बनाएर पार्टी बलियो बनाउनुपर्ने चुनौती छ । तर आफैमाथि प्रचण्ड उठाउँदै निकट भनिएकै नेताबाट प्रहार भएको छ । यसले प्रचण्डलाई झस्क्याएको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा २२० सिटसहित पहिलो दल बनेको माओवादी अहिले प्रतिनिधिसभामा ३२ सिटमा खुम्चिएको छ ।

३२ सिट भए पनि कहिले नेपाली कांग्रेस त कहिले नेकपा एमालेको काँध चढेर दाहालले झन्डै १८ महिना सरकार चलाए । यो अंकलाई ‘जादुयी नम्बर’ भनेर कार्यकर्ता हौस्याउने काम पनि गरे । तर, कांग्रेस–एमाले मिलेपछि उनको जादुरी नम्बरले काम गरेको छैन ।

यो पनि पढ्नुहोस- प्रचण्डलाई जनार्दनको प्रश्न( पार्टी किन शून्यउन्मुख भयो ? पूर्णपाठ

अध्यक्ष दाहालले आफूलाई सत्ताबाट हटाउन देशीविदेशी शक्तिले भूमिका खेलेको बयानबाजी दिँदै आएका छन् । कहिले भ्रष्टाचारका फाइल खोल्दा डराएर ठुला दल मिलेको त कहिले बिचौलिया र व्यापारीले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाइदिएको अभिव्यक्ति दिन्छन् ।

आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा त सिँधै अमेरिकासम्मलाई मुछेका छन् । बंगलादेशबाट भर्खरै प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत भागेकी शेख हसिना र आफूलाई अमेरिकाले एकै ढंगले हटाएको अभिव्यक्ति दिएका छन् । उनले राज्य साझेदारी कार्यक्रम (एसपिपी) स्वीकार नगर्दा आफू र अमेरिकी सेनाको बेसक्याम्प राख्न नमान्दा हसिनालाई सत्ताच्यूत गरिएको दाबी पेस गरेको एक स्थायी कमिटी सदस्य बताउँछन् ।

एकातिर दाहालले यसरी अभिव्यक्ति राखेर बैठकमा पार्टी नेताहरूको ध्यान केन्द्रित गर्न खोजी रहँदा अर्कातिर उनैलाई अप्रिय लाग्नेगरी उपमहासचिव जनार्दन शर्माले दुईवटा विषयमा ‘लिखित धारणा’ नै राखेका छन् । जसमा ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १२ पेज र ‘पार्टी फुटबारे चलाइएको हल्ला सम्बन्धमा’ शीर्षकमा थप दुई पेज धारणा उल्लेख छ ।

पहिलो धारणामा शर्माले पार्टी कमजोर हुनुका कारण औँल्याएका छन् ।

त्यसैगरी दोस्रो धारणामा प्रचण्डलेबाटै पार्टी फुटबारे चलाइएको हल्ला चलाइएको आरोप शर्माको छ ।

शर्माले लिखित धारणामा शान्ति सम्झौतापछिका कार्यभार पूरा गर्नमा पार्टी नेतृत्व (दाहाल) ले तदारुकता देखाउन नसकेको आरोप लगाएका छन् ।

त्यसमध्येको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन भर्खरै सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमा सहमति जुटेको उल्लेख गर्दै दोस्रो कार्यभार भनेर जनतन्त्र, राष्ट्रियता र जनजीविको विषय कार्यान्वयन हुन नसकेको उल्लेख छ ।

जनजीविकाका सवालामा पार्टी रनभुल्लमा परेको र पार्टीभित्र प्रस्ताव राख्दा पनि सुनुवाइ नभएको, आर्थिक, सामाजिक र सांस्कृतिक सुधारमा ध्यान नदिएको, देश आफै बनाउनुपर्छ भन्ने विश्वास युवालाई दिलाउन नसकेको, संघीयताको कार्यान्वयन र सम्बर्धन गर्न नसकिएको, संवैधानिक तथा राजकीय अंगलाई जनताका पक्षमा रूपान्तरण गर्न नसकिएको, समाजवादको सार्थकतालाई ध्यानमा नदिइएको आरोप पनि शर्माको लिखित धारणामा छ ।

‘आज हामीसँग संविधानका अलावा न जनाधार छ, न संगठन छ। केही सीमित उपलब्धि बाहेक न कुनै देखाउन लायक कामहरू छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ । हाम्रा एजेण्डाहरु खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय हाम्रा व्यवहार र निर्णयले टाढिएको छ,’ शर्माको लिखित धारणामा भनिएको छ ।

यस्तै २०६४ को निर्वाचनमा प्रत्यक्षमा १२० सिटमा जितेको उल्लेख गर्दै अहिलै प्राय: सबै निर्वाचन क्षेत्र माओवादीबाट खोसिएको पनि शर्माले उल्लेख गरेका छन्।

शर्माले अगाडि भनेका छन्, ‘हामी शून्यतर्फ उन्मुख छौं। पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ। र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं ।’ पार्टीमा जो जति छन् सबै असन्तुष्टि बोकेर बाँचिरहेको विडम्बनापूर्ण स्थिति रहेको शर्माले उल्लेख गरेका छन ्।

‘यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनकानी गरिरहेका छौं ?’ शर्माले प्रश्न गरेका छन्। पार्टी साँघुरिँदै जानुको कारण जनता नभएर पार्टीका नारा, आश्वासन सरकारमा हुँदा पूरा नभएको पनि शर्माको दाबी छ ।

प्रचण्डबाटै जनार्दनले पार्टी फुटाउने हल्ला

शर्माको अर्को धारणामा आफूले पार्टी फुटाउन लागेको भन्ने हल्ला अध्यक्ष प्रचण्डबाटै फैलिएको आरोप लगाएका छन् ।

‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारवाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो,’ शर्माले उल्लेख गरेका छन् । उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरी पोखरामा अध्यक्ष दाहालले नै ‘पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराए’पछि पार्टी फुट्ने हल्ला व्यापक भयो भनिएको छ ।

अध्यक्ष दाहालबाट यस्तो अभिव्यक्ति आउनुका पछाडि केही प्रश्न रहेको शर्माले लेखेका छन् । जसमा आफूले महाधिवेशनमा उठाएका प्रश्नदेखि लिएर पार्टीलाई विधि र पद्धतिमा लैजाने संकल्पको प्रस्तावसम्म उल्लेख गरेका छन् ।

यस्तै सरकारमा रहँदा अध्यक्ष दाहालले कहिले जनार्दन त कहिले वर्षमान पुनका विरुद्ध दुष्प्रचार गरिएको पनि आरोप लगाइएको छ ।

प्रचण्डको विकल्प खोजी

उपमहासचिव शर्माले पार्टी बनाउन ‘पुरानालाई सम्मान गर्दै नयाँलाई प्रात्साहन गर्नुपर्ने’ भन्दै प्रस्ट रुपमा अध्यक्ष दाहालको विकल्पबारे धारणा राखेका छन् ।

यसका लागि शर्माले तीनवटा बुँदामा विकल्प अघि सारेका छन् । जसमा पहिलोमा ‘नेतृत्व हस्तान्तरण’ भनेका छन् । जसमा अध्यक्ष दाहाललको योगदानलाई स्थापित गर्न बाँकी समय पनि भूमिका सुनिश्चित गर्दै दाहालले चाहेको व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन् ।

दोस्रोमा ‘नेतृत्व पुस्तान्तरण’ भनेका छन् । जसमा अध्यक्ष दाहाललाई संरक्षकको भूमिकामा बसेर वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने, हालका पदाधिकारी सल्लाहकारको भूमिकामा रहेर विभागीय काम, अनुगमन, मुल्याल्यांकन, प्रशिक्षण गर्ने र तेस्रो तहका नेतालाई साङ्गठनिक नेतृत्व दिन भनेका छन्। तेस्रोमा हालको केन्द्रीय कमिटी भंग गरी दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएर प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव राखेका छन्। साथै यो प्रस्तावमा कुनै पूर्वाग्रह नराख्न पनि शर्माले आग्रह गरेका छन् ।

पार्टी बैठकमा प्रचण्डविरुद्ध जनार्दनले लिएको अडान र राखेको धाणालाई लिएर धेरैले आश्चर्यका रुपमा लिएका छन् । जनार्दनको यो प्रस्ताव भनेको प्रचण्डविरुद्ध बम प्रहार गर्न सरह भएको बुझाइ कतिपयको छ । यसलाई न प्रचण्डले पचाउन सक्छन् न जनार्दनले अब आफूले गरिरहेको प्रहार फिर्ता नै लिन सक्छन् । यसले माओवादीको भविष्यलाई नै अनिश्चित बनाइदिएको छ ।