१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

मौरीपालनबाट मासिक ५० हजार आम्दानी

मौरीपालनबाट मासिक ५० हजार आम्दानी
अ अ+ अ-

मन्थली । यहाँको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहनुभएको छ ।

सानै उमेरमा सहर पस्नु भएका मगर कोरोना कहरका कारण गाउँ फर्किनु भएको थियो । कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले सुरुमा कुखुरापालन गर्नुभयो । कुखुराबाट खासै आम्दानी नभएपछि उहाँले मौरीपालन गर्ने सोच बनाएर ललितपुरको गोदावरीमा गई मौरीपालनसम्बन्धी तालिम लिनुभयो र मौरीपालन सुरु गर्नुभएको हो ।

सुरुमा मेलिफेरा जातको १० घार मौरीबाट व्यवसाय सुरु गर्नुभएको थियो । उहाँले भन्नुभयो, “त्यसपछि मैले छ घार सेरेना जातको मौरी थपेँ, अहिले यो व्यवसाय गरेको तीन वर्ष भयो आम्दानी राम्रै छ ।” उहाँले मौरीपालनसँगै मौरीका नयाँ घार उत्पादन गरी घारसहितका मौरी बेच्नु हुन्छ । महभन्दा घारसहितको मौरी बिक्री चाँडो हुने र त्यसबाट बढी फाइदा हुने उहाँको अनुभव छ । मह र घार बिक्रीबाट उहाँले वार्षिर्क खर्च कटाएर छ लाख कमाइ गर्ने गरेको बताउनुभयो ।

आर्थिक वर्ष २०८०/८१ मा मौरीपालन व्यवसाय प्रवर्द्धनका लागि उहाँले रामेछाप नगरपालिकाबाट रु तीन लाख अनुदान प्राप्त गर्नुभयो । सुरुमा लगानी गर्न समस्या भएको अवस्थामा अनुदान पाएपछि उहाँ खुसी हुनुहुन्छ । उहाँले एक लाख १५ हजार लगानी गरी मौरीपालन सुरु गर्नुभएको थियो । सबैभन्दा बढी खर्च मह काढ्ने मेसिनमा लागेको उहाँको भनाइ छ । पछि आफैँले घार निर्माण गर्न थालेपछि अहिले उहाँको बगैँचामा मेलिफेरा र सेरेना जातका ७० घार माहुरी छन् । मेलिफेरा जातका मौरीले वर्षमा चार/पाँचपटक मह उत्पादन गर्छ । यसले एक पटक मह काढ्दा एक घार बराबर १० देखि १५ केजीसम्म मह दिन्छ । सेरेना (लोकल) जातको माहुरीको घारबाट भने वर्षमा दुईपटक मात्र मह निकाल्न मिल्ने उहाँले बताउनुभयो ।

अहिले महभन्दा पनि मौरीसहितको घारको माग बढी भएकोले उहाँले माउ उत्पादनमा जोड दिनुभएको छ । उहाँले उत्पादन र निर्माण गर्नुभएको मौरीसहितको घार १० हजारका दरले बिक्री गर्नुहुन्छ । सेरेना जातको माहुरीको मह प्रतिकेजी एक हजारदेखि एक हजार दुई सयसम्म बिक्री गर्नु हुन्छ । अठार वर्षसम्म सहरमा रोजगारी गर्दा खासै पैसा कमाउन नसक्नु भएका मगर अहिलेको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्न्ुाहुन्छ, “देशका युवा लाइन लागेर विदेश गएको देख्दा आफूलाई पनि जाउँ जाउँ लागेको थियो, तर विदेश गएर फर्केको साथीहरुको अनुभव सुन्दा नजाने अठोट लिएर गाउँमैे काम गर्न थालेका हुँ ।”

मौरीपालन सुरु गरेको दुई वर्ष लगानी थप्दै जानुपर्ने र उत्पादन नहुनेजस्ता समस्या थियो । तेस्रो वर्षदेखि धमाधम उत्पादन हुन थालेपछि लगानी उठेको उहाँको अनुभव छ । कम मेहनत र लगानीमा राम्रो आम्दानी हुने यो व्यवसायका लागि विभिन्न स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रममा मौरीपालन समावेश गरेका छन् । सोही अनुसार सुनापति गाउँपालिकाले उहाँसँग एक सयवटा मौरीसहितको घार माग गरेको छ । रानीसहितको कर्मी मौरी उत्पादन गर्न केही समय लाग्ने भएकाले तत्काल मौरी उपलब्ध गराउन नसकिने उहाँ बताउनुहन्छ ।

मौरीलाई अरिङ्गाल र मलसाप्रोबाट जोगाउन निकै समस्या हुन्छ । धेरै घार भएपछि घर वरिपरि मात्र राखेर नहुने भएकाले बारीको कान्लाहरुमा राख्ने गरेकाले त्यहाँ अरिङ्गाल र मलसाप्रोले दु:ख दिने गरेको छ । घारभित्रको महमा कमिलाले दु:ख दिने भएकाले कमिलाबाट जोगाउन ‘स्ट्यान्ड’ बनाएर राख्नुपर्ने र मलसाप्रोबाट जोगाउन ढुङ्गाले थिचेर राख्नुपर्छ । उहाँले अर्को वर्षसम्ममा तीन सय घार मौरी पाल्ने योजना बनाउनुभएको छ । प्राय: मौरीपालक किसानहरुले धेरै र चाँडो मह निकाल्न घार नजिक चिनी र चास्नी बनाएर राखिदिने गरेपनि आफूले त्यस्तो नगरेको र चास्नी बनाएर दिइरहनु नपर्ने उहाँको भनाइ छ ।

मौरीको घार विस्तार गर्दा रानी बनाउन कृत्रिम प्रविधि नअपनाई प्राकृतिक तरिकाले रानी उत्पादन गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घार फुटाएपछि मौरीहरुले आपत्कालीन रानी तयार पार्छन् रानी हराएको अवस्थामा माहुरीहरुले तीन/चार दिनको लार्भा अण्डा हालेर भए पनि तुरुन्तै रानी उत्पादन गर्ने भएकाले कृत्रिम तरिकाले रानी उत्पादन गरिरहनु पर्दैन ।”

रानी हराएको अवस्थामा दुई/तीन दिनसम्म कर्मी मौरीले रानी खोज्ने तर फेला परेन भने चौथो दिन देखि तीन/चार दिनको लार्भा हालेर रानी तयार पार्ने मगरले बताउनुभयो । उहाँले उत्पादन गर्नुभएको मह सदरमुकाम मन्थली छिमेकी जिल्ला दोलखा, सिन्धुली, काठमाडौँ र भक्तपुरका बजारहरुमा बिक्री हुने गरेको छ । रासस