९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाले मुख्य सडकहरुमा २ हजार आधुनिक बत्ती जडान गर्दै



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कामपा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा  सहमतिपत्रमा हस्ताक्षर भएको हो । कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गर्नुभएको हो  । सहमतिपत्र अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्कीलगायतका क्षेत्रमा करीब रु १७ करोडको लगानीमा दुई हजार आधुनिक बत्ती जडान कार्य अघि बढाइने छ । 

हस्ताक्षर कार्यक्रममा मन्त्री नेम्वाङले सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ क्षेत्रलाई व्यवस्थित र उज्यालो राजधानीको चिनारी दिने अभियानअन्तर्गत यो योजना अघि बढेको बताउनुभयो । धुलो र हिलोरहित काठमाडौँ बनाउने अभियानमा यस अघिदेखि नै सक्रिय रहेको भन्दै कामपाको पहलमा उज्यालो काठमाडौँ महानगर बनाउने अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको उहाँको जोड थियो । कामपा प्रमुख शाक्यले लामो समयको प्रयासपछि सहमति भएको भन्दै यस कार्यले शहरी सौन्दर्य अभिवृद्धि गर्न ठूलो सहयोग हुने बताउनुभयो । 

सहमतिपत्रमा कामपा क्षेत्रभित्रका मुख्यमुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीहरूमा कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा कामपाको ६० र प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ । त्यसैगरी चालु आवमा प्राधिकरणको ४० प्रतिशत लगानीका लागि आवश्यक रकम कामपाले उपलब्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।

यस आयोजनाको निर्माणपश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथलगायतको मर्मत कार्य सडक विभागले गर्नेछ । सडक बत्ती जडान, सञ्चालनलगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिइनेछ । सोही संयन्त्रले सडक बत्तीहरुको सम्भाव्य विस्तार र स्थलहरूको पहिचान अध्ययन गरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेजस्ता विषय उल्लेख गरिएको छ ।