९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ मन्त्रालयले निर्देशन: कोरोना बिमाको दाबी भुक्तानी तीन दिनभित्र



अ+ अ-

काठमाडौँ । कोरोना बिमाको दाबी भुक्तानी तीन दिनभित्र गर्न अर्थ मन्त्रालयले निर्देशन दिए पनि अझै करिब २२ हजार दाबीको भुक्तानी भएको छैन । गत बुधबारसम्म ८ हजार ५ सय ६३ वटाको मात्र दाबी भुक्तानी भएको छ । त्यसबापत कम्पनीमार्फत ८३ करोड ६५ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको छ । बिमा समितिका अनुसार गत आइतबारसम्म ३० हजार ५ सय वटा कोरोना बिमा दाबी परेको छ । यही तथ्यांकलाई आधार मान्दा पनि बुधबारसम्म करिब २२ हजार दाबी भुक्तानी हुन बाँकी देखिएको हो । आइतबारयता पनि धेरै दाबी परिसकेकाले दाबी कुल दाबी संख्या बढेको हुन सक्ने बताइएको छ ।

पहिलो पटक सात दिनभित्र दाबी भुक्तानी दिन अर्थमन्त्री विष्णु पौडेलले नै निर्देशन दिए पनि कम्पनीहरूले अटेर गरेको भन्दै गत बिहीबार तीन दिनभित्र भुक्तानी दिन निर्देशन दिइएको थियो । तर पनि धेरैले लामो समयसम्म पनि दाबी भुक्तानी नपाएको गुनासो गरेका छन् । गुनासोबारे नियामक निकाय बिमा समिति पनि जानकार छ । यस्तो अवस्थामा छिटो भुक्तानीका लागि उसले निर्देशन दिनुपर्नेमा कम्पनीकै पक्षमा विज्ञप्ति जारी गरेर बिमितलाई आश्वस्त पार्न खोजेको छ । स्थलगत निरीक्षण गर्दा बिमितले तोकिएका सबै काजगात पेस नगरेकाले धेरै दाबी भुक्तानी बाँकी रहेको बताइएको छ ।

आवश्यक कागजात नपुगेको, बिमा कम्पनीका कर्मचारी कोरोना संक्रमित भएको, प्रमाणीकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) पठाउनुपर्नेलगायत कारण ढिलाइ भएको समितिको निष्कर्ष छ । तर बिमक संघ (बिमा पुल) ले भने कागजात पूरा भएको दाबीमध्ये ५० प्रतिशत भुक्तानी भइसकेको बताएको छ । संघका अनुसार बुधबारसम्म कुल दाबीमध्ये १८ हजार ६ सय ८५ वटा दाबीको मात्र सबै कागजात पूरा आएको छ । त्यसको करिब ५० प्रतिशत दाबी भुक्तानी भएको र बाँकी प्रक्रियामा रहेको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले बताए । भुक्तानी गर्न बाँकी दाबीमध्ये १ हजार ९ सय २३ स्वीकृतिको प्रक्रियामा रहेको, २ हजार १ सय ८५ वटा ईडीसीडीबाट आउन बाँकी रहेको र ७ सय ३९ वटा ईडीसीडीमा पठाउन तयार रहेको पाण्डेले बताए । बाँकी १ हजार १ सय ३६ वटा दाबी कम्पनीमा फिर्ता पठाइएको, ४ हजार ९४ वटा प्रमाणीकरण प्रक्रियामा रहेको उनले जानकारी दिए । जसमा २५ वटा दाबी नक्कली भेटिएको उनले बताए ।

धेरै दाबीमा कागजात नपुगेकाले बिमितलाई सम्बन्धित कम्पनीमा सम्पर्क गरेर आवश्यक कागजात पुर्‍याइदिन उनले आग्रह गरे । ‘कागजात पूरा भएका दाबीको पनि भुक्तानी ढिलाइ भए बिमा पुलमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ,’ उनले भने, ‘प्राप्त एसएमएसलाई २४ घण्टाभित्र सम्बोधन गरिनेछ ।’ शंकास्पद र निजी प्रयोगशालामा गरिएको परीक्षणका रिपोर्ट प्रमाणीकरणका लागि ईडीसीडी पठाउनुपर्ने भएकाले समय लागेको बिमा कम्पनीहरूले बताउने गरेका छन् । कोरोना बिमा मापदण्ड–०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ ।

संशोधित मापदण्डमा बिमा पुलबाट मात्र दाबी भुक्तानी गर्न एकद्वार नीतिको व्यवस्था गरिएको छ । त्यसको व्यवस्थापन शिखर इन्स्योरेन्सले गरेको छ । नयाँ बिमालेखमा सामूहिक रूपमा प्रतिव्यक्ति १ लाख रुपैयाँको मात्र बिमा गर्न पाइन्छ । जसमा कोरोना संक्रमित भएको प्रमाणित भएपछि घरमै आइसोलेसनमा बसेको भए एकमुष्ट २५ हजार र अस्पतालमा उपचार गराएको भए उपचार खर्चअनुसार बढीमा ७५ हजार रुपैयाँसम्म भुक्तानी पाइन्छ । भदौ २८ अघि बिमा गरेका बिमितले भने कोरोना प्रमाणित भएपछि एकमुष्ट ५० हजार र १ लाख रुपैयाँ भुक्तानी पाउँछन् । कोभिड–१९ को जोखिम सुरक्षणका लागि भन्दै गत वैशाख ७ देखि बिमालेखको बिक्री सुरु गरिएको थियो । कान्तिपुर दैनिक