२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर



अ+ अ-

राँझा । होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय सोहनलाल यादवले बताउनुभयो ।

उहाँका अनुसार, राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुङ्गा चढेर नदीपारि जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ ।

“नदी तर्न पक्की पुल सिधनियाघाट पुग्न धेरै टाढा पर्छ, यता झोलुङ्गे पुल छैन, त्यसैले डुङ्गा चढ्नुको विकल्प छैन”, राप्ती सोनारी–७ खल्लाझगडिया नयाँबस्तीका स्थानीय शङ्कर यादवले भन्नुभयो, “हिउँदवर्षात् जहिले पनि डुङ्गाबाट राप्ती नदी वारपार गर्ने गरेका छाँै ।”

डुङ्गामा नदी तारेको प्रतिव्यक्ति रु १० तिर्नु पर्दछ । गाईभैँसीलाई बोकेबापत रु २०, साइकलको रु १५ र मोटरसाइकलको रु ६० लिने गरेको डुङ्गाचालक नानबाबु पासीले बताउनुभयो । डुङ्गामा एकैपटक ५० देखि ६० जना मान्छे र मालसमान नदी वारपार गराउने गरेको पासी बताउनुहुन्छ ।

हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा नेपाली गाउँका सयौँ नागरिक किनमेलका लागि पुग्ने गर्छन् । हाटबजारमा राप्तीवारि डुडुवा गाउँपालिका होलिया, बेतहनी र राप्तीपारि राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको गङ्गापुर र मटेहियाका दर्जनौँ नागरिक डुङ्गा तरेर जाने गर्दछन् ।

भारतीय हाटबजारमा तरकारी लगायत उपभोग्यवस्तु सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न त्यतै जाने गरेका डुङ्गाचालक पासीले बताउनुभयो । डुडुवा गाउँपालिका–१ होलियाका कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटइपुर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपुर्वा सन्तलीया नयाँबस्तीका सयौँ बासिन्दाको डुङ्गा चढेर राप्ती नदी वारपार गर्नु दिनचर्या भएको स्थानीय झगरु लोनियाले बताउनुभयो ।

राप्ती तटीय क्षेत्रका नागरिक राप्तीको डुबान तथा कटान नियन्त्रण र जोखिम मोलेर डुङ्गामा सवार हुनुपर्ने समस्या अन्त्यका लागि मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणका लागि पहल भइरहेको सांसद सूर्य ढकालले जानकारी दिनुभयो ।




भर्खरै