१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैद्यखानाबाट शिलाजीत पुनःउत्पादन सुरू



अ+ अ-

काठमाडौँ: सिंहदरबार वैद्यखाना विकास समितिले शिलाजीत उत्पादन पुनः सुरू गरेको छ । लामो समयदेखि उत्पादन बन्द भएको शिलाजीत बिहीबारदेखि बजारमा आएको समितिले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा जानकारी गराइएको हो । शिलाजीतको माग बढिरहेकाले पुनःउत्पादन सुरू गरिएको समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले जानकारी दिनुभयो ।

विसं २०५१ मा जारी भएको समितिको गठन आदेशअनुसार २०७५ सालसम्म सञ्चालनमा रहेको समिति २०७५ देखि २०७७ सालसम्म समिति गठन आदेशविना सञ्चालन हुँदा समस्या भएको छलफलका क्रममा जानकारी गराइएको थियो । विसं २०७७ सालमा सरकारले अर्को गठन आदेश जारी गरी समस्या समाधानको प्रयास भएसँगै समितिले उत्पादनमूलक काम अगाडि बढाएको डा केसीले बताउनुभयो ।

यसैगरी आयुर्वेदअनुसार दुई सय १० प्रकारका औषधि गाँजाबाट बनाउनुपर्नेमा गाँजा प्रतिबन्ध लागेसँगै समितिको उत्पादनमा पनि समस्या भएको उहाँले उल्लेख गर्नुभयो । “गठन आदेशको समस्या थियो, २०७७ मा अर्को गठन आदेश बनाइएसँगै केही समस्या समाधान भएका छन् । समितिको गठन आदेशमा ११ औँ तहको कार्यकारी निर्देशकको व्यवस्था भए पनि निजामती किताबखानामा त्यो दर्ता नभएकाले समस्या भएको छ । अब त्यसको समाधानका विषयमा पनि सोच्न आवश्यक छ”, कार्यकारी निर्देशक डा केसीले भन्नुभयो,“व्यवस्थापकीय समस्या समाधान भएमा समितिले आफ्ना नियमित कामलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउने छ ।”

समितिका पूर्वनिमित्त प्रबन्ध निर्देशक ऋषिराज रेग्मीले गठन आदेश नभएको अवधिमा आएका समस्याले नै समितिमा काम गर्ने वातावरण नभएकाले त्यसको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।

समितिका लेखा अधिकृत उमानाथ ढकालले समिति आर्थिक सङ्कटमा फसेको जानकारी गराउनुभयो । समितिमा दुई जना निजामती र अरु समितिअन्तर्गतका कर्मचारी रहेका छन् । हाल सुधारका काम सुरू भएको लेखा अधिकृत ढकालले सुनाउनुभयो ।

उत्पादन अधिकृत विनोद साहले च्यवनप्राश उत्पादन वृद्धिका लागि आवश्यक तयारी भएको जानकारी दिनुभयो । योजना शाखा प्रमुख सतीश पौडेलले निवृत्तिभरणपछिको कोषमा रकम नभएकाले त्यसको सुनिश्चितताका लागि आग्रह गर्नुभयो ।

उत्पादन अधिकृत हरिदेवप्रसाद यादवले आयुर्वेद अनुसन्धान केन्द्रमा बजेट बढेर जाने गरे पनि सिंहदरबार वैद्यखानामा त्यसो हुन नसक्दा समस्या भएको बताउनुभयो । बजेट नभएर उत्पादनमा कमी आएको उहाँको भनाइ थियो । गुणस्तर नियन्त्रण अधिकृत गोविन्द ढकालले वैद्यखानाबाट उत्पादिन आयुर्वेदका औषधिको गुणस्तर राम्रो हुने भएकाले बजारमा माग भने धेरै हुने गरेको सुनाउनुभयो । हाल देखिएका समस्या समाधानमा सरकारले सहयोग गरे समितिले उत्पादन वृद्धिमा जोड दिने धारणा राख्नुभयो ।रासस