९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालविवाह रोक्न सक्रिय बन्दै बाल क्लब



अ+ अ-

देउखुरी । यहाँको गढवा गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय चैनपुर विद्यालयमा अध्ययनरत छात्रछात्राहरु बाल क्लबमा आबद्ध भएपछि सरसफाइसँगै सचेतनामूलक कार्यक्रममा सक्रिय देखिएका छन् ।

बाल क्लबका सदस्यहरुले बालअधिकारका विषयमा जानकारी लिँदै समुदायमा बालविवाह विरुद्धको अभियानलाई सशक्त बनाएका छन् । मुक्त कम्लरी विकास मञ्चले यसअघि देखि बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । विसं २०७९ साउन २४ गते विद्यालयमा बाल क्लब गठन भएपछि मञ्चको उक्त कार्यक्रमलाई बाल क्लबको अभियानले थप सहायता प्रदान गरेको छ ।

गढवा गाउँपालिका–५ बाँकेकी सरस्वती परियार विद्यालयमा गठित बाल क्लबको अध्यक्ष हुनुहुन्छ । उहाँले विसं २०८० मा एसइई परीक्षा दिनुभएको हो । एसइई परीक्षा सकिए पनि उहाँ प्रत्येक महिना विद्यालयमा हुने बाल क्लबको बैठकमा सहभागी हुनुहुन्छ । बाल क्लबमा आबद्ध भएपछि सिकेको जीवन उपयोगी सीपलाई अरू साथीहरुमाझ पु(याउने काम गर्दै आउनुभएको छ ।

बालविवाह, प्रजनन स्वास्थ्य, नेतृत्व विकासका बारेमा जान्ने बुझ्ने कामलाई विद्यालयमा अध्ययनरत अन्य किशोरकिशोरीलाई सिकाउने गरेको उहाँले बताउनुभयो । मनिषा चौधरी पनि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत हुनुुहुन्छ । उहाँ क्लबको कोषाध्यक्ष हुनुहुन्छ । बाल क्लबमा आबद्ध हुनुभन्दा पहिले उहाँलाई सबै सामु आफ्नो नाम भन्न डर लाग्थ्यो । अहिले सबैसामु ढुक्कसँग बोल्न र आफ्ना कुरा राख्नसक्ने हुनुभएको छ ।

बाल क्लबले किशोरकिशोरीमा आउने शारीरिक परिवर्तन र त्यसले पार्ने असरका बारेका खुलेर एकआपसमा कुरा गर्ने गरेको उहाँले बताउनुभयो । साथीलाई कुनै समस्या आई लागेमा सहयोग गर्ने गरेको चौधरीको भनाइ छ ।

“बालविवाहले किशोरकिशोरीमा पार्ने शारीरिक र मानसिक असरका बारेमा छलफल हुन्छ । विद्यालय सरसफाइ प्रत्येक साता गर्ने गरेका छौँ । विद्यालयमा सिकेका कुरा घरपरिवारमा छलफल गर्ने गरेका छौँ,” मनिषाले भन्नुभयो । छोरा र छोरीबीच भेदभाव गर्नु हुँदैन हरेक स्थानमा समान सहभागिता दिनुपर्छ भन्ने कुरा घरपरिवार र समाजमा चेतना फैलाउने काम उनीहरुले गर्दै आएका छन् ।

२५ सदस्य रहेको बाल क्लबले गरिरहेको कामबाट धेरै खालका सकारात्मक परिवर्तन हुँदै गएको मुक्त कम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रम ‘फिल्ड मोटिभेटर’ निमा चौधरीले बताउनुभयो । विद्यालय पढ्दै गरेका कतिपय किशोरकिशोरीले बालविवाह गर्ने गरेकाले यसको रोकथामका लागि बाल क्लबका माध्यमबाट निगरानी बढाएको छ ।

मुक्त कम्लरी विकास मञ्चका फिल्ड संयोजक ज्ञानु थापाले किशोर अवस्थामा उनीहरुमा आउने परिवर्तनसँगै उनीमा रहेको उत्सुकता मेटाउन बाल क्लबले सहयोगी भूमिका खेलेको बताउनुभयो । समय समयमा मञ्चले तालिम सञ्चालन गरेर उनीहरुलाई सचेतना दिने गरेको छ । क्लब गठन भएयता बीचैमा पढाइ छोड्ने र कक्षामा अनुपस्थित हुने बालबालिकाको सङ्ख्यामा कमी आएको विद्यालयका प्रधानाध्यापक हिमालप्रकाश अधिकारी बताउनुहुन्छ । विद्यालयमा बाल क्लब गठन भएपछि विद्यार्थीहरुको पढाइलेखाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सहभागिता बढेको उहाँको भनाइ छ । रासस