७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कर्मचारीले कार्यालय समयमा सेयरसम्बन्धी कारोबार गर्न नपाउने



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीमा देखिएका विकृति हटाउँदै कर्मचारी प्रशासनलाई सुधारतर्फ अघि बढाउने अभियानलाई निरन्तरता दिएको छ । कर्मचारीमा देखिएको विकृतिले सेवाप्रवाह कमजोर भएको ठहर गर्दै मन्त्रालयले आम कर्मचारीलाई सेवाग्राहीमैत्री र जिम्मेवार बनाउँदै सेवाप्रवाह प्रभावकारी बनाउन त्यस्तो अभियान थालेको हो । सोही अभियानअन्तर्गत मन्त्रालयले सोमबार मात्रै कार्यालयको समयमा कुनै पनि कर्मचारीले सेयरसम्बन्धी कार्य गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले कुनै पनि कर्मचारीले कार्यालय समयमा विद्युतीय माध्यम प्रयोग गरी सेयरसम्बन्धी कारोबार गर्न नपाउने गरी रोक लगाएको हो । अधिकांश कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा संलग्न रहँदै आएको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार नै राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेख्दै कर्मचारीले कार्यालय समयमा सेयरसम्बन्धी कार्य गरे नगरेको अनुगमन गर्दै त्यस्तो कार्य गरेको पाइए कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । यसअघि मन्त्रालयले उच्च पदस्थ कर्मचारीलाई लोकसेवा परीक्षाका लागि विभिन्न इन्स्टिच्युटमा गएर पढाउन प्रतिबन्ध लगाएको थियो ।

सुधारक र ‘बोल्ड’ निर्णय क्षमताका प्रशासकका रूपमा परिचित एकनारायण अर्याल सचिवका रूपमा आएपछि संघीय मामिला तथा सामान्य प्रशासनले एकपछि अर्को सुधारका कार्यलाई अभियानकै रूपमा अघि सार्दै आइरहेको मन्त्रालयका कर्मचारी बताउँछन् । मन्त्रालयले सोमबार नै बहालवाला कर्मचारीबाट कानुनी तथा मन्त्रालयले गरेका निर्णयको पालना भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गरी कानुन तथा निर्णय परिपालनको अवस्थालाई प्रभावकारी बनाउन सतर्कता केन्द्रलाई पत्राचार गरेको छ । साथै मन्त्रालयले आफैं पनि त्यस सम्बन्धमा अनुगमन गर्ने जनाएको छ ।

मन्त्रालयले सबै कर्मचारी कार्यालयमा नियमित रूपमा उपस्थित भए नभएको तथा पोसाक नियमित रूपमा लगाए नलगाएको बारेमा समेत अनुगमन गर्न सतर्कता केन्द्रलाई आग्रह गरेको छ । निजामती सेवा ऐनको दफा ४८ विपरीत हुने गरी कर्मचारीले व्यापार व्यवसाय सञ्चालन गरे नगरेको बारेमा समेत अनुगमन गरी त्यसविपरीत कार्य गरेको पाइए कडा कारबाही प्रक्रिया थाल्न सतर्कता केन्द्रको ध्यानाकृष्ट गराइएको मन्त्रालयले जनाएको छ । राजधानी दैनिक