२१ भाद्र २०८३, आईतवार
,
Latest
ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

फलामको पुल राखेपछि यातायात सञ्चालन



अ+ अ-

मनाङ । बाढीका कारण पूर्ण रुपमा अवरुद्ध मनाङ प्रवेशको एक मात्र सडक सञ्चालनमा आएको छ । चामे गाउँपालिका–१ तिमाङस्थित स्याक्र्यु झरनामा फलामको पुल राखेपछि यातायात सञ्चालनमा आएको हो ।

वर्षा भइरहेकाले केही कठिनाइ भएको भन्दै लामो समयको प्रयासपछि पुल राख्ने काम पूरा भएसँगै यातायात नियमित सञ्चालनमा आएका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । निरन्तरको वर्षासँगै गत असार १८ गते झरनाको बाढीसँगै आएको ढुङ्गासहितको गेग्र्यानले मोटरेवल पुलमा क्षति पुर्‍याएपछि आवतजावत रोकिएको थियो । उक्त स्थानमा फलामको पुल राखेपछि आजदेखि यातायातका साधन सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।

प्रजिअ लामिछानेले भन्नुभयो, “पानी पर्ने क्रम केही कम भए पनि मनसुन कायम रहेकाले काम केही ढिलाइ भएको हो । आजदेखि सञ्चालनमा आएको पुलबाट पैदलयात्रीका साथै सवारीसाधन आवतजावत गर्न सक्छन् ।”

गत असार १८ गते तिमाङ खोलाको बाढीले काठेपुल पनि बगाएको थियो । तिमाङ खोलामा बाढीले डुम्रे–चामे–बेँसीसहर खण्डअन्तर्गत दानाक्यु, तिमाङ सडक अवरुद्ध भएको थियो । तिमाङ खोलामा पनि काठेपुल राखेर यातायात सञ्चालन गरिएको प्रजिअ लामिछानेले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले पटकपटकको बाढीपहिराको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गतको मनाङ क्षेत्रमा मोटरेबल राख्न पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लावासीलाई सहज यात्रा गर्ने वातावरण बनाउन यहाँका विभिन्न आठ स्थानमा मोटरेबल पुल राख्न पहल भइरहेको छ ।

सांसद गुरुङले भन्नुभयो, “यहाँका नागरिकले सधैँ जोखिम र सास्ती भोगेर गर्नुपर्ने यात्रामा सहज बनाउने प्रयासमा छौँ । चालु आर्थिक वर्षमा समावेश हुनेगरी आठवटा पुल निर्माण गर्न माग गरिएको छ ।” पर्यटकीय क्षेत्र भएकाले पनि मनाङको यात्रा सहज बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले आवतजावत रोकिएपछि प्राथमिकताका साथ स्थलगत रुपमा खटिएर फलामको पुल राखी यातायात सञ्चालनमा ल्याइएको बताउनुभयो । मनाङवासीको सास्तीलाई सहज बनाउने प्रयासमा प्रदेश रहेको उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनाङका इन्चार्ज कपिल लामाले यात्रा कठिन भइरहेको अवस्थामा पुल पुन:निर्माण भई सञ्चालनमा आएपछि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री ढुवानीमा सहज भएको बताउनुभयो । झरनामा फलामको पुल राख्ने क्रममा कामदारले जोखिमपूर्ण अवस्थामा काम गरेका प्रजिअ लामिछानेले बताउनुभयो । “झरनाको पानी कम भएपछि मात्रै काम थालिएको थियो”, उहाँले भन्नुभयो, “यहाँ पुल निर्माण भएसँगै यात्रा सहज भएको छ ।” पुल बनेसँगै विच्छेद भएको तल्लो र माथिल्लो मनाङ आवतजावत सहज हुँदा स्थानीय खुसी भएका छन् । रासस