२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा



अ+ अ-

पर्वत । गत जेठमा सम्पन्न २५ सय ६८औँ बुद्धजयन्ती मेलाबाट सङ्कलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोसाक र यातायात सुविधाको व्यवस्था गरिएको छ ।

यहाँको जलजला गाउँपालिका–९ बनौँमा सञ्चालित बनौँ युवा क्लबद्वारा सञ्चालित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै नि:शुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको हो ।

बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत एक सय ४५ जना विद्यार्थीहरूका लागि रु एक लाख ५० हजारमा ‘ट्र्याकसुट’ वितरण गरेको क्लबका सचिव लुक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँको एकमात्र माविमा रहेका गरिब, विपन्न तथा असहाय परिवारका विद्यार्थीलाई प्रोत्साहनस्वरुप पोसाक वितरण गरिएको हो ।

आइतबार बनौँ माविमा एक कार्यक्रम आयोजना गरी पोसाक वितरण गरिएको थियो । कार्यक्रममा जलजला गाउँपालिका–९ का वडाअध्यक्ष गौबहादुुर पुनले पोसाक वितरण गरेर क्लबले सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो । उहाँले विद्यालयको विकास र विद्यार्थीको सहजताका लागि यातायातको सुविधा मिलाइएकामा प्रशंसा गर्नुभयो ।

टाढाबाट पढ्न आउने विद्यार्थीलाई नियमित विद्यालय आउजाउ गर्न यातायातको सुविधा क्लबले मिलाएको छ । उक्त सुविधाका लागि चालु आर्थिक वर्षमा रु तीन लाख विनियोजन गरेको छ । गाउँमै सञ्चालित जिप तथा बसलाई वार्षिक रु तीन लाख दिएर नियमित विद्यालय लैजाने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष राजकुमार पुनले जानकारी दिनुभयो ।

यो सुविधासँगै टाढाका विद्यार्थीहरु आजैदेखि पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य भएको छ । अहिले डेढदेखि दुई घण्टा टाढासम्मका विद्यार्थीहरु पैदल हिँडेर पढ्न आउने गरेका छन् । कतिपय विद्यालय नजिकै डेरा लिएर बस्नुपर्ने बाध्यतासमेत रहेको क्लबका अध्यक्ष पुनको भनाइ छ ।

समयमै विद्यार्थी विद्यालय आउन पाउँदा उनीहरुको पठनपाठनमा सुधार हुने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर पुनले बताउनुभयो । घण्टौँ हिँडेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य हुँदा विद्यार्थी र अभिभावक हर्षित छन् ।

बनौँ युवा क्लबले बुद्धजयन्तीका अवसर पारेर गत जेठ १० देखि १९ गतेसम्म मेला सञ्चालन गरेको थियो । उक्त मेलाबाट खर्च कटाएर रु ११ लाख २५ हजार मुनाफा भएको थियो । मुनाफामध्ये रु ५० हजार स्थानीय बनौँ आमा समूहलाई वाद्यवादन सामग्री तथा पोसाक खरिदका लागि सहयोग गरिएको क्लबका सचिव लुक पुनले जानकारी दिनुभयो ।

मगर समुदायमा आयोजना हुने बुद्धजयन्ती मेलालाई मनोरञ्जन मात्रै नभई सामाजिक सेवामा जोड्न विद्यालयमा सहयोग गरिएको क्लबका अध्यक्ष पुनको भनाइ छ । मेलामा खेलकुदसहितका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए । रासस