२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्नुपर्छ: सांसद शाही



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्न सरकारसँग माग गर्नुभएको छ । वर्तमान सत्ता गठबन्धनले संविधान संशोधनको ‘एजेन्डा’ उठाए पनि त्यसको आवश्यकताको पुष्टि गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले संविधानले दिगो विकासको आवश्यकता पूर्ति गर्न नरोकेको उल्लेख गर्दै दलहरुले आफ्नो गल्ती ढाकछोप गर्न विभिन्न बहाना बनाइरहेको आरोपस लगाउनुभयो ।

“वर्तमान सरकार गठबन्धनको मुख्य उद्देश्य संविधान संशोधन भनिएको छ, तर संविधान संशोधनको औचित्य के हो ? के अहिलेको संविधानले विकास नगर भनेको छ ? देशको दिगो विकासका लागि संविधानको कुरा कुन धाराले रोकेको छ ?”, सांसद शाहीले प्रश्न गर्नुभयो । कुनै पनि दललाई स्पष्ट बहुमत ल्याउन संविधानले नरोकेको उहाँको भनाइ थियो ।

दिगो विकासका लागि सरकारले प्राथमिकता निर्धारण गर्न नसकेको सांसद शाहीको आरोप थियो । राज्यलाई ऋण थुपारेर अनावश्यक संरचना बनाएर आर्थिक दायित्व थप्ने र अनुत्पादक क्षेत्रमा जथाभावी लगानी गर्ने प्रवृत्ति बढिरहेको भन्दै उहाँले सरकारले बजेट छुट्याउने विभिन्न सडक र भवनको आवश्यकता के हो भनेर विश्लेषण गरिनुपर्ने बताउनुभयो । बिचौलियाको चलखेलमा सरकारको वार्षिक बजेटमा योजना तथा कार्यक्रम पर्ने गरेको उहाँले आरोप लगाउनुभयो ।

अहिलेको मुख्य आवश्यकता सुशासन कायम गर्नु रहेको र ठूला दलले सुशासन कायम गर्न नसके नागरिकस्तरमा समग्र दलीय प्रणालीप्रति नै वितृष्णा जाग्ने सांसद शाहीको बुझाइ छ । “सरकार देश र जनताका आवश्यकतासँगै जानुपर्दछ । नागरिकले मन्त्रीहरुको लामो सूची खोजेका होइनन् । देशका लागि दिगो आर्थिक विकास, सामाजिक र सुशासन हो”, उहाँले भन्नुभयो, “सरकारमा रहेका दुई ठूला दलले राम्रो काम गर्न सकेनन् भने सबै राजनीतिक दलप्रति वितृष्णा बढ्छ ।”

सार्वजनिक संस्थानहरुको सम्पत्तिको दोहन भएको र भ्रष्टाचार बढेको सांसद शाहीले बताउनुभयो । त्यस्तै, विगतमा भएका कानुन विपरीतका कामलाई कारबाहीको दायरामा ल्याउनुपर्ने तथा सरकार नेताहरुको कमजोरी ढाकछोप गर्नेभन्दा पनि समग्र देशको हितमा उभिनुपर्ने धारणा राख्नुभयो । रासस