• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

पेरिस ओलम्पिकको भब्य उद्घाटन-फोटो फिचर



पेरिस: पेरिस ओलम्पिक– २०२४ को एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ । शुक्रबार औपचारिक उद्घाटन भएपनि केहि खेलहरु भने जुलाई २४ तारिखदेखि नै सुरु भइसकेको छ । फुटबल, आर्चरी, रग्बी सेभेन्स र ह्यान्डबल उद्घाटनअघि नै सुरु भइसकेको छ ।

ओलम्पिकको इतिहासमा उद्घाटन समारोह रंगशाला बाहिर पहिलो पटक भएको हो । सहभागी टोलीलाई डुंगा र ‘क्रुज’ मा राखेर सेन नदीमा मार्च पास्ट गराइएको थियो । पेरिसस्थित पोन्ट दि अस्टरलिजबाट सुरु भएको मार्च पास्ट विश्वचर्चित आइफल टावरमा पुगेर टुंगिएको थियो । कडा सुरक्षाबीच भएको उद्घाटन समारोहको मार्च पास्टका लागि ८५ डुंगा प्रयोग गरिएको थियो ।

मार्च पास्टमा नेपालको झण्डा श्यान्टु श्रेष्ठ र मनीता श्रेष्ठ प्रधानले बोकेका थिए । लैंगिक समानतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी० ले टोकियो ओलम्पिक– २०२० को संस्करणदेखि पुरुष र महिला खेलाडीलाई मार्च पास्टमा राष्ट्रिय झण्डा बोक्न दिन सुरु गरेको हो । मार्च पास्टमा श्यान्टु र मनीतासहित नेपालबाट ८ जना सहभागी थिए । नेपाली टोलीका ‘सेफ दि मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, एनओसीकी उपाध्यक्ष ज्योति राणा, एनओसीका सचिव रामजीबहादुर श्रेष्ठ, पौडी खेलाडी एलेक्जेन्डर शाह र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सहभागी थिए । मार्च पास्टका लागि नेपालसहित नामिबिया र नाउरुको टोलीलाई एउटै डुंगामा राखिएको थियो । मार्च पास्ट सहभागी २ सय ६ राष्ट्रका खेलाडी र अफिसियल गरी करिब ७ हजार मात्र सहभागी थिए । फ्रान्सले १ सय वर्षपछि ओलम्पिक आयोजना गरेको हो । पछिल्लोपटक १९२४ को आठौं संस्करण पेरिस सहरमै भएको थियो । फ्रान्सले ओलम्पिक आयोजना गरेको यो तेश्रो पटक हो । सन् १९०० को ओलम्पिक पनि फ्रान्समै भएको थियो ।

पेरिस ओलम्पिकको ३३ औं संस्करणमा नेपालबाट ६ खेलमा ७ खेलाडी सहभागी छन् । ३ पुरुष र ४ महिला खेलाडी सहभागी छन् । टेबलटेनिसमा श्यान्टु श्रेष्ठ र ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्ने छन् । पुरुष १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले भाग लिने छन् ।

महिलामा सुटिङकी सुस्मिताले १० मिटर एयर राइफल, पौडीकी डुवाना लामाले २ सय मिटर फ्रिस्टायल, जुडोकी मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन ९४२।१९५ किलोमिटर० मा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सन्तोषी बाहेक सबै खेलाडी पेरिसमै छन् । सन्तोषी जुलाइ ३० तारिखमा पेरिस आइ पुग्ने छिन् । सन्तोषीको खेल पेरिस ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा छ ।

सातै नेपाली खेलाडीको यो ‘डुब्यु’ ओलम्पिक हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले गृष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेएता टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । त्यसमा श्यान्टु छनोट चरण पार गरेरै ओलम्पिकमा सहभागी हुन लागेका हुन् । नेपालमै भएको दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगितामा पहिलो हुँदै श्यान्टुले पेरिस ओलम्पिक– २०२४ मा स्थान पक्का गरेका थिए । गृष्मकालीन ओलम्पिकमा यस्तो उपलब्धी हात पार्ने श्यान्टु तेश्रो नेपाली खेलाडी हुन् । यसअघि संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेका थिए ।

पेरिस ओलम्पिकमा २ सय ६ राष्ट्रका करिब १० हजार ५ सय खेलाडीले ३ सय २९ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक ४ वर्षको अन्तरालमा हुने ओलम्पिक यो पटक तीन वर्षमा भएको हो । ३२ औं संस्करणको टोकियो ओलम्पिक २०२० लाई तय भएपनि कोभिड– १९ का कारण २०२१ मा भएको थियो ।

यसैबीच उद्घाटन समारोहको अघिल्लो दिन फ्रान्सस्थित नेपाली दूतावासले पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई स्वागत गर्दै सफलताका लागि शुभकामना दिएको थियो ।

फोटो -लोकेन्द्र बस्नेत