काठमाडौंः आन्तरिक शक्ति संर्घषका कारण विभाजनको संघारमा पुगेको नेकपाको संकट केही हदसम्म समाधान उन्मुख भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपाल समूहबीचको संर्घषका कारण फुटको संघारमा पुगेको नेकपा अध्यादेश प्रकरण पछि वार कि पारको अवस्थामा पुगेको समयमा ४ नेताको सकृयताका कारण नाटकीय रुपमा घटनाले सकारात्मक मोड लिएको छ ।
एक अर्का प्रति चर्को आरोप प्रत्यारोपमा उत्रिएका अध्यक्ष ओली र दाहाललाई स्थायी समितिको बैठक बस्नुअघि साथमा राखेर महासचिव विष्णु पौडल स्थायी समितिका सदस्यहरु सुवास नेवाङ्ग, घनश्याम भुषाल र शंकर पोखरेलले हस्तक्षेप गरी एक खालको सहमति जुटाएका थिए । चार जनाले जुटाएको सहमतिपछि प्रधानमन्त्री ओली पनि स्थायी समितिको बैठकमा बस्न सहमत हुनु भएको थियो । स्राेतका अनुसार दुई अध्यक्षबीच एक्ला एक्लै सम्बाद समेत भएको थियो ।
जस अनुसार विवादमा रहेका अन्य विषयहरुमा सहमति जुटाउँदै दुबै अध्यक्षले एक अर्काप्रति लक्षित गरेर पेश गरेको राजनीति प्रतिवेदन पनि फिर्ता लिने सहमति भएको स्राेतले बताएकाे छ । जसको छनक बुधबारको स्थायी समितिको बैठकमा पनि देखिएको ती सदस्यले बताए । यस अघिको बैठकमा नेताहरु पनि निकै आक्रामक बनेका शीर्ष नेताहरु बुधबारको बैठकमा केही मथ्थर रुपमा प्रस्तुत भएका थिए ।











