२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

काठमाडौंमा चिसो बढ्यो, मध्यतराईमा शितलहर शुरु भएपछि जनजीवन कष्टकर बन्दै

काठमाडौंमा चिसो बढ्यो, मध्यतराईमा शितलहर शुरु भएपछि जनजीवन कष्टकर बन्दै
अ अ+ अ-

वीरगन्ज । गृह मन्त्रालयले जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन २०७७’ लागू भएलगत्तै काठमाडौंमा ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मंगलबार काठमाडौं उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव १ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस रहेको छ । पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।

जाडो मौसम शुरु भएसँगै शीतलहर र हिमपातबाट जनधनको क्षति रोक्न मार्गदर्शन जारी भएसँगै ७७ वटै जिल्लामा चरणबद्धरुपमा पूर्वतयारीका कार्यक्रम शुरु भएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना संकलनदेखि विपद् हुन नदिन र विपद्का घटना भइहालेमा उद्धार, राहत वितरण तथा पुनस्र्थापनका कार्यक्रम तय गरी तयारी थालिसकेको बताएको छ । स्थानीय र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै अवस्था अध्ययन गरी विवरण संकलन गर्ने, साधनस्रोतको कमी रहेनरहेको पहिचान गरी त्यसको जोहो गर्ने तथा अपुग सामग्री केन्द्रमा माग गर्ने मार्गदर्शनमा उल्लेख छ ।

तल्लो तहबाट आएको प्रतिवेदनका आधारमा संघीय सरकारबाट आवश्यक सहयोग तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको छ । गृह मन्त्रालयले न्याना कपडा लगाउन, धेरै चिसोमा नहिँड्न, आगो बालेर कोठा बन्द गरेर नबस्न सर्वसाधारणमा अनुरोध गरेको छ । जाडोमा शीतलहरका कारण बढी प्रभावित हुनेमा सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तुलगायत ११ जिल्ला रहेको जनाइएको छ । शीतलहरबाट कम प्रभावित जिल्लामा झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गरी ११ वटा जिल्ला रहेका छन् । हिमपातका कारण ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुमपूर्व, म्याग्दी गरी २१ जिल्ला बढी प्रभावित रहेका छन् ।

मध्य तराईको पर्सा, बारा र रौतहटमा बाक्लो हुस्सुसँगै शीत लहर शुरु भएको छ । केही दिनदेखि सामान्य हुस्सु लाग्न शुरु भए पनि मंगलबार बिहानबाट भने हुस्सु शुरु भएको हो । हुस्सुसँगै चिसो बढेकाले मध्यतराईको जनजीवन कष्टकर बन्न थालेको छ । शीतलहरका कारण हुने चिसोले मध्यतराईमा हरेक वर्ष विपन्न सर्वसाधारणको मृत्यु पनि हुने गरेको छ । यो वर्ष पनि चिसोले कठ्यांग्रिएर रौतहटमा एक जनाको मृत्यु भइसकेको जनाइएको छ । चिसोले अति विपन्न, गरिब, मजदुर र पिछडिएका दलित बस्तीका सर्वसाधारण बढी प्रभावित हुने गरेका छन् । शरीर ढाक्ने न्यानो कपडा र राति ओढ्ने–ओछ्याउने बाक्लो कपडाको अभावमा उनीहरु बढी प्रभावित हुने गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभयो ।

हुस्सुले घाम छेकेपछि यस क्षेत्रको तापक्रम दिनहुँ घट्दै गइरहेको छ । बाक्लो हुस्सु लागेर भिजिबिलिटी कम हुँदा अत्यन्त व्यस्त रहने स्थानीय राजमार्गमा सवारीसाधनको चाप कम हुन थालेको छ । राजमार्गमा गुड्ने सवारी दिउँसै लाइट बालेर गुड्न थालेका छन् । चिसोले प्रभावित साना बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका र जेष्ठ व्यक्तिहरुलाई बचाउन पहल गर्ने भनी गएको मंसिर २१ गते आइतबार पर्सामा शीतलहर प्रारम्भिक समितिको बैठक बसिसकेको छ । सो बैठकले एक साताभित्र अति विपन्न र गरिब ज्येष्ठ नागरिक पहिचान गरिसक्ने भनिएको थियो । तर, वास्तविक पीडित हुनेलाई राहतस्वरुप दाउरा, न्यानो कपडा बाँड्ने भनी निर्णय गरिसकेको भए पनि स्थानीय तहहरुको साथ नपाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

विपद् जोखिम न्यूनीकरणको प्रमुख दायित्व अब स्थानीय सरकारको भए पनि अधिकांश स्थानीय तहहरुमा अझै पनि स्थानीयस्तरको विपद् व्यवस्थापन समितिसमेत गठन नभएको पाइएको छ । समिति गठन भएका स्थानीय तहहरुमा पनि उपयुक्त कार्ययोजनाहरु नहुँदा समस्या हुने गरेको छ । बर्सेनि आइपर्ने मौसमअनुसारको विपद् व्यवस्थापनको पूर्वतयारीमा स्थानीय तहहरुको चासो नजाँदा नागरिकले ज्यानसमेत गुमाउनुपरेका घटनाहरु भएका छन् ।

मंसिर अन्तिम सातादेखि मध्यपूर्वी तराईमा चिसो बढ्न थालेको छ । विगतका वर्षमा पुस लागेपछि मात्रै चिसो हावा चल्ने गरेकामा यसपालि मंसिर अन्तिमदेखि ह्वात्तै चिसो बढेको हो । चिसोले गरिब तथा विपन्नहरुको जनजीवन कष्टकर बन्दै गएको छ । बिहान हुस्सुले ढपक्कै ढाक्दा मध्याह्न मात्र आक्कलझुक्कल घाम देखिने गरेको छ । महोत्तरीको पूर्वपश्चिम राजमार्ग वरपर तुषारो तथा बाक्लो हुस्सु लाग्ने र सिरेटो चल्ने गरेको छ ।

बदलिएको मौसमले व्यापार व्यवसाय चौपट भएका छन् भने कृषिकार्य पनि प्रभावित भएको छ । बढ्दो जाडोले गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् भने दैनिक ज्यालादारी गरेर गुजारा गर्ने श्रमिक मारमा परेका छन् । त्यसै गरी सप्तरीसहित तराई–मधेसमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेको छ । हप्ता दिनदेखि मौसममा परिर्वतन आएर चिसो बढेको हो । प्रदेश नं २ का आठ जिल्लामा बिहान र साँझ बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले अत्यधिक जाडो बढेको स्थानीयले बताएका छन् । चिसोबाट बच्ने उपाय अपनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले सर्वसाधारणलाई सूचना प्रकाशित गरी आग्रह गरेको छ । शीतलहरले गरिब, दलितको जनजीवनलाई बढी प्रभावित पारेको छ । खास गरी डोम, मुसहर र दलित वर्गलगायतका बस्तीमा शीतलहरले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई समस्या भएको छ । नेपाल समाचारपत्र दैनिक