• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

दुर्घटनामा घाइते क्याप्टेन मनिषको स्वास्थ्य अवस्था कस्तो छ ?



काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएका पाइलट मनिष शाक्यको उपचार भइरहेको छ । उनको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ ।

आकस्मिक कक्षमा राखेर उपचार भईरहेको क्याप्टेन शाक्यको टाउको, खुट्ट लगायतका भागमा चोट लागेको अस्पतालले जनाएको छ । उनले परिवारका सदस्यहरुसँग भेटेर कुराकानी गरिरहेका छन् ।

क्याप्टेन शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसन समेत हुन् । उनले सन् २००९ बाट उडान करिअर थालेका थिए ।

काठमाडौंबाट पोखरा जाँदै गरेको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटना भएको थियो । विमानमा सवार चालक दलका सदस्यसहित १९ जना सवार थिए । जसमध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

क्याप्टेन शाक्यलाई भने दुर्घटनास्थलबाट नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पठाएका थिए ।