१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली

जसले छोरीको खेल हेर्न पाउनु भएन…

जसले छोरीको खेल हेर्न पाउनु भएन…
अ अ+ अ-

देवल । गएको शुक्रबार श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप महिला क्रिकेट चलिरहेको थियो । नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा थियो । खेलमा नेपालका तर्फबाट उत्कृष्ट ब्याटिङ गरिरहनुभएको थियो, बझाङकी सम्झना खड्काले । उहाँको खेल प्रदर्शनले नेपाली क्रिकेटप्रेमीहरुको मन जितिरहेको थियो ।

तर, जय पृथ्वी नगरपालिका–९ बझाङमा रहनुभएका उहाँका बुबाआमा भने उक्त खेलबारे अनभिज्ञ हुनुहुन्थ्यो । खेल चलिरहँदा बुवा देवेन्द्रबहादुर र आमा कालीदेवी खड्का लेकतिर पणीतोलामा घेराबारको काम गरिरहनुभएको थियो । उहाँहरुलाई छोरीले क्रिकेट खेल्छिन् भन्ने मात्रै थाहा थियो । अघिल्लो साँझ भोलि छोरीको खेल छ भन्ने चर्चा भएको थियो ।

तर, भोलि कति बेला खेल्ने, कता हेर्ने टुङ्गो थिएन । बिहानको खाना खाएर बुवा आमा लेकतिर जानुभयो । सम्झनाका भाइहरूले जयपृथ्वी नगरपालिकाको हलमा खेल हेर्ने अवसर पाउनुभयो । “दिनभर घरमा बसेर केही हुन्न । घरमा छोरीको खेल हेर्नलाई केही माध्यम भएन । त्यसैले हामी लेकतिर गयौँ,” सम्झनाका बुवा देवेन्द्रले भन्नुभयो, “पछि छोरीले राम्रो खेली भनेर फोनमा खबर पाएपछि मोबाइलमा छोरीको खेल हेर्‍यौँ ।”

खेल खासै नबुझे पनि राम्रो खेलेको थाहा पाउँदा बुवाआमा खुसीले दङ्ग हुनुहुन्छ । छोरीलाई जागिरका लागि दबाब दिइरहेको खड्का परिवार आजभोलि खेल खेलेर नाम कमाएकोमा खुसी छ । “घरका कसैले त जागिर खानुपर्छ भनेर अनमी पढायौँ । पढाइ सकेर जागिर पनि खान थाली । बीचमै जागिर छोडेर खेलतिर लागि । त्यो बेलामा घरमा कसैलाई चित्त बुझेको थिएन । आजभोलि अरुले फलानाका छोरीभन्दा निकै खुसी लाग्छ”, बुवा देवेन्द्रले भन्नुभयो ।

पहिलो खेलमा सम्झनाले युएईविरुद्ध नेपाललाई जित दिलाउनुभएको थियो । उहाँले ४५ बलमा ११ चौकासहित ७२ रन बनाउनुभयो । सम्झना खेलको प्लेयर अफ दि म्याचसमेत बन्नुभएको थियो । त्यसपछि उहाँको चर्चा चुलियो । उहाँलाई नचिन्नेले चिन्ने अवसर पाए । उहाँलाई जिल्लामै प्रशिक्षण गर्ने सुरेन्द्र सिंह र प्रविन्द धामीको पनि चर्चा भयो ।

किशोरावस्था प्रवेशसँगै क्रिकेट खेल्न थाल्नुभएकी सम्झनालाई सफलता मिल्दै गएपछि परिवारमा खुसी छाएको उहाँका दाजु नवीन खड्काले बताउनुभयो । सम्झनालाई मोजाको बलले बलिङ गराउँदै १३ वर्षअघि सिंह र धामीले क्रिकेट खेल्न सिकाउनुभएको थियो । खेलमैदान नहुँदा बन्द विमानस्थलमा उनीहरु खेल अभ्यास गर्थे ।

त्यसै बेलादेखि बझाङमा क्रिकेट खेलको सुरुवात भएको थियो । खेल सिकेको छ महिनामै धामी र सिंहले सम्झनालाई बझाङको महिला टिम कप्तान बनाउनुभएको थियो । बिहान स्कुल जाने, स्कुलबाट फर्किएपछि घरायसी काम सकेर क्रिकेट खेल्ने उहाँहरुको दैनिकी भएको प्रविन्द धामी सम्झनुहुन्छ । उहाँले भन्नुभयो, “सम्झनालाई बझाङ टिमको कप्तान बनाएर जिल्लाबाट धनगढी, महेन्द्रनगर, बैतडीलगायतका ठाउँमा हुने क्षेत्रीय खेलमा सहभागी गराउथ्यौँ । पछि उसको खेल सुध्रिँदै गयो र राष्ट्रिय टिमबाटै खेल्ने अवसर मिल्यो ।”

त्यो बेलामा खेलको महत्व कसैले नबुझेको उहाँको अनुभव छ । “बहिनीहरु खेल्न जाँदा परिवारकै सदस्यले अवरोध गर्थे,” धामीले भन्नुभयो, “त्यो बेलामा कुनै दिन हाम्रा खेलाडी अन्तर्राष्ट्रिय रङगशालामा सबैको अगाडि देख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले आएर हाम्रो सपना पूरा भएको छ । त्यो बेलामा हामीसँग रिसाउनेहरुले अहिले बुझेका छन् ।”

सम्झना राष्ट्रिय टिमबाट खेल्न थालेको दुई वर्ष भयो । यसपटकको एसिया कपको दोस्रो खेल गरी उहाँले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका १८ खेल खेलिसक्नुभयो ।

आइतबार भएको खेलमा नेपालले पाकिस्तानसँग लज्जास्पद हार व्यहो(यो । नेपाललाई पाकिस्तानले नौ विकेटले हरायो । नेपालले निकै आशा गरेकी खेलाडी सम्झनाले पाकिस्तानसँगको खेलमा उत्कृष्टता देखाउन सक्नुभएन । पाँच बल खेल्नुभएकी सम्झनालाई पाकिस्तानी कप्तान निदा डारको बलमा नाशरा सन्धुबाट मिडविकेटमा क्याच आउट हुनुभयो । मङ्गलबार भारतसँग भएको खेलमा नेपाल ८२ रनले पराजित भयो । जितसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश ग(यो भने नेपाल हारसँगै प्रतियोगिताबाट बाहिरियो ।

क्रिकेट खेलको चर्चा माझ सम्झनाका आमाबुवाले कुनैपनि खेलको प्रत्यक्ष प्रसारण हेर्न पाउनुभएन । “घरको टिभिमा आउँदैन । मोबाइल छैन । अरुले भनेको आधारमा छोरीले खेल जितेको/हारेको थाहा पाउँछौँ ।” उहाँका बुवा देवेन्द्रले भन्नुभयो । छोरीले जुनसुकै ठाउँमा पुगेपनि क्रिकेट खेलबाट गरिरहेको प्रगतिबाट उहाँको परिवार सन्तुष्ट हुनुहुन्छ ।रासस