११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्रतापछि पहिलो पटक पाकिस्तानी यात्रु विमानबाट भारत पुग्ने



अ+ अ-

इस्लामाबाद । जनवरीको सुरुमा भारतीय तीर्थयात्रीहरू हवाई मार्गबाट ​​पाकिस्तान पुगेपछि पाकिस्तानी पर्यटकहरू पनि ७५ वर्षमा पहिलो पटक पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) को विशेष उडानमा जनवरी २९ मा भारत जानेछन्। 

अहिलेसम्म तीर्थयात्री वा पर्यटक एक अर्काको देशमा पैदल या समझौता एक्सप्रेसबाट जाने गर्दथे । राष्ट्रियसभा सदस्य तथा पाकिस्तान हिन्दू परिषद्का अध्यक्ष डा रमेश कुमारका अनुसार दुई छिमेकी मुलुकबीच धार्मिक पर्यटन प्रवद्र्धनका लागि पिआइए र एयर इन्डियाबीच सम्झौता भएको थियो ।

सम्झौताअनुसार दुवै एयरलाइन्सले यसका लागि विशेष उडान गर्ने छन् । पाकिस्तानी पर्यटकको एउटा समूह जनवरी २९ मा लाहोर विमानस्थलबाट प्रस्थान गरी फेब्रुअरी १ ​​मा पाकिस्तान फर्किनेछ।

तीन दिने भ्रमणका क्रममा समूहले अजमेर शरीफ, जयपुर, आगरा, मित्रा, हरिद्वार र दिल्लीस्थित हजरत निजामुद्दीन औलियाको सुफी सन्त ख्वाजा मोइनुद्दीन चिश्तीको दरगाहको भ्रमण गर्नेछ।

भारत घुम्न पर्यटकले एक १ लाख रुपैयाँ तिर्नुपर्ने

प्रत्येक तीर्थयात्रीले यात्रामा एक हजार ५०० डलर (एक लाखभन्दा बढी) खर्च गर्नुपर्ने डा रमेशले बताए । यदि उनीहरू आगरा र दिल्लीमा बस्दा छुट्टै कोठा चाहन्छन् भने उनीहरूले यसका लागि थप २०० डलर अर्थात १५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

सन् १९७४ मा भारत र पाकिस्तानबीच भएको सम्झौताअनुसार तीर्थयात्रीले दुवै देशका धार्मिकस्थलको दर्शन गर्न पाउँछन् । वक्फ सम्पत्ति बोर्ड र धार्मिक मामिला मन्त्रालयले तीर्थयात्रीहरूको आवतजावतको व्यवस्था गर्छ।

दुई देशबीच यात्राका लागि समझौता एक्सप्रेस विकल्प

भारत र पाकिस्तानबीचको यातायातका लागि अझै पनि हवाई सम्पर्क छैन । समझौता एक्सप्रेस रेल भारततर्फ दिल्लीदेखि अटारी र पाकिस्तानतर्फ लाहोरदेखि वाघासम्म चल्छ ।

सन् १९७४ को भारत–पाकिस्तान प्रोटोकल अन भिजिट टु रिलिजियस प्लेस मेकानिजमअन्तर्गत भारतबाट ठूलो सङ्ख्यामा सिख तीर्थयात्रीहरू पाकिस्तानमा धार्मिक स्थलहरूको भ्रमण गर्छन्। त्यसैगरी पाकिस्तानी नागरिक पनि धार्मिक स्थलको दर्शन गर्न भारत आउने गरेका छन् ।