• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

संविधानको मुल मर्म र भावनालाई नखुम्च्याइकन संशोधन हुन्छ: सांसद महत



काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद महतले संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता नहुने जिकिर गर्नुभयो । उहाँले समावेशिता सुनिश्चित गर्ने अझ राम्रा उपायहरु रहेको उल्लेख गर्दै समावेशितालाई कटौति गर्ने नभइ हरेक वर्ग, समूहका व्यक्तिलाई  प्रत्यक्ष रुपमा जनतामा गएर निर्वाचित भइ आउने व्यवस्था गर्ने बताउनु भयो । उहाँले वर्तमान संविधानको मुल मर्म र भावनालाई नखुम्च्याइकन, कमजोर नगरीकन संशोधन र सुधार गर्न सकिने बताउनु भयो । उहाँले नेकपा एमाले र काँग्रेससँगको सत्ता सहकार्य जटिल र आवश्यक रहेको बताउनु भयो । उहाँले परिस्थितिका कारण दुई ठूला पार्टी एक ठाउँमा हुन परेको बताउनु भयो । समाजवाद, लोकतन्त्र, कानूनी शासनको सुनिश्चिततामा सरकारले ध्यान दिने पनि बताउनु भयो । उहाँले पार्टी र व्यक्ति भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले एमालेसँग मिलेर हाम्रो सरकार बनेको छ । हामी प्रतिष्पर्धी पार्टी पनि हौँ । त्यसअर्थमा हाम्रो सम्बन्ध जटिल पनि छ । सहकार्य जटिल पनि छ । तर परिस्थितिले यो आवश्यक बनिरहेको छ । परिस्थितिले त्यहाँ हामीलाई उभ्याइरहेको छ । त्यसैले जब हामी संविधानको कुरा गर्दैछौँ । समाजवादको कुरा गर्दैछौँ, लोकतन्त्रको कुरा गर्दैछौँ, यो कानूनी शासनको हरेक मुद्दामा नेपाली काँग्रेसले अक्षरश: कसरी सरकारमा बसेर त्यसको सुनिश्चित गर्ने, सुशासन कसरी सुनिश्चित गर्ने, कसरी पार्टी र व्यक्ति भन्दा माथि उठेर हामीले देश र जनताप्रति समर्पित भएर काम गर्ने, यो कुरामा सहयात्री दललाई पनि हाम्रो यो काममा एक ठाउँमा हुनुपर्छ । सात बुँदेमा पनि देखिएको छ । पार्टी र व्यक्तिगत कुराबाट माथि उठ्नु धेरै ठूलो चुनौति छ । तर आवश्यकता हो ।’

‘त्यसको बीचमा काम गरिरहेका छौँ । संविधान संशोधनको कुरा उठिरहेको छ । त्यो पनि एउटा भाष्य के सिर्जना गर्न खोजिरहेको छ भने संविधान संशोधन भनेपछि प्राप्त भएको अधिकार खोस्न थाले यिनीहरु मिलेर भन्ने छ । त्यो हुँदै होइन । हामी अधिकारलाई घनिभुत गर्न चाहन्छौँ । समावेशितालाई हामी कम्परमाइज गर्दैनौँ । तर समावेशिता सुनिश्चित गर्ने अझ बेटर उपायहरु छन् । अझ राम्रो तरिकाहरु छन् । त्यो राम्रो तरिका हामीले अपनाउने हो । त्यसमा हामीले समावेशितालाई कटौति गर्ने होइन । तर कहाँनेर हाम्रो अझ भाइब्रेण्ट सहभागिता हरेक वर्ग, समूहको प्रत्यक्ष रुपमा जनतामा गएर निर्वाचित भएर आएर यो मेरो क्षेत्र हो, यहाँबाट म प्रतिनिधित्व गर्दछु भनेर आउनलाई सुनिश्चित गर्ने तरिकाहरु छन् । महिलाहरुको एक तिहाई सुनिश्चितता गर्न त्यसरी पनि सकिन्छ । दलितको जनसंख्याअनुसार त्यसरी सुनिश्चित गर्न सकिन्छ । अरु वर्गको पनि त्यसरी सहभागिता सुनिश्चित गर्न सकिन्छ । वर्तमान संविधानको मुल मर्म र भावनालाई नखुम्च्याइकन, कमजोर नगरीकन संशोधन र सुधार गर्नसक्छौँ ।’

सांसद महतले आर्थिक उन्नति, रोजगारी देशमै सिर्जना गर्ने वातावरण वर्तमान सरकारले निर्माण गर्ने दाबी गर्नुभयो ।