काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिनको आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताउनुभयो ।
"भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन । हामी त्यो तयारीमा छौं," अर्थमन्त्री पौडेलले भन्नुभयो, "भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।" उहाँले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिनुभयो ।
अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड-१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र बृद्धबृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले कोभिड-१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान बनाउन सरकार लागिपरेको बताउनुभयो ।"अर्थतन्त्रलाई सबल, सक्षम र गतिशील बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छु" उहाँले भन्नुभयो ।











