• २१ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 6 2024
  •   Unicode
Logo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो । सङ्घीय सरकारमा सत्ता समिकरण परिवर्तन भएसँगै नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री महराले छिट्टै नयाँ सरकार गठन गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गर्नुभयो । उहाँले आफ्नो नेतृत्वको सरकारमा सहभागी हुँदा एमाले तथा अन्य दलका मन्त्रीहरुले सोचेभन्दा बढी विश्वासका साथ काम गरेको दाबी गर्नुभयो ।

“केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्नु दु:खद हो”, उहाँले भन्नुभयो । आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन हुँदैन कि भन्ने चिन्ता गर्दै मुख्यमन्त्री महराले चालु आर्थिक वर्षको नीति तथा कायक्रम कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

मुख्यमन्त्री महराको राजीनामासँगै एमाले र नेपाली काग्रेसले नयाँ सरकार गठनको तयारी सुरु गरेको एमालेका प्रमख सचेतक तुल्सीप्रसाद चौधरीले जानकारी दिनुभयो । नयाँ सरकार बनाउन एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा दावी पेश गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

कूल ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र काग्रेसका २७ प्रदेशसभा सदस्य रहेका छन् । सत्ता सहकार्यका लागि अन्य साना दललाई समेत प्रदेश सरकारकारमा समेट्ने तयारी रहेको प्रमुख सचेतक चौधरीले बताउनुभयो ।