२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम



अ+ अ-

भोजपुर । यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुनुहुन्छ । उहाँ व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुट्नुभएको छ ।

उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आउनुभएको छ ।

बङ्गुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बङ्गुरपालनसँगै फलफूलखेती गरिरहेको उहाँले बताउनुभयो । व्यवसायी राईको फार्ममा अहिले ४१ वटा बङ्गुर छन् ।

भविष्यमा बङ्गुरपालन तथा फलफूलखेतीबाट वार्षिक रु ५० देखि ६० लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उहाँले बताउनुभयो । विदेशमा सात वर्ष बिताउनुभएका राईले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको बताउनुभयो । “वार्षिक रु १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी हुन्छ ।”

स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उहाँ बताउनुहुन्छ । आफ्नो फार्ममा उत्पादन भएका बङ्गुर खरिद गर्न ठेकेदार घरमा आउने उहाँले बताउनुभयो । फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बङ्गुरलगायत पालन गरिरहेको उहाँले बताउनुभयो । फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बङ्गुर छन् । “बङ्गुर बिक्रीको कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “ धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् । मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।”

कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताउनुभयो । उहाँलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उहाँको धारणा छ । बङ्गुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउनुहुन्छ । रासस