७ पुष २०८२, सोमबार
,
Latest
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यावधि निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र



अ+ अ-

काठमाडौं । सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि तय भएको मध्यावधि निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र दिइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् विघटन प्रस्ताव स्वीकृत भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयुक्तहरुको बैठक बसेको थियो । बैठक बसेलगत्तै निर्वाचन आयोगलाई निर्वाचनको तयारी अघि बढाउन पत्र दिइएको आयोगले जनाएको छ । सो बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुई चरणको साटो एकै चरणमा निर्वाचन गर्दा खर्च अलि कम हुने भन्दै चुनावी खर्च बढ्न सक्ने संकेत गर्नुभएको थियो ।

आयोगका अनुसार मध्यावधि निर्वाचन गराउन कम्तीमा १२ अर्ब रुपियाँ आवश्यक पर्छ । घोषणा गरेलगत्तै निर्वाचन हुने र नहुने चर्चा शुरु भएको छ । कोरोना महामारीले समग्र अर्थतन्त्र थला परेका बेला राज्यलाई अबौँ रकम थप भार हुने गरी चुनाव गराउने निर्णय सही होरु भन्ने कोणबाट प्रश्न उठाउन थालिएको छ । कोरोना महामारीका बेला मध्यावधि निर्वाचनको घोषणा भएसँगै त्यसका लागि खर्च कसरी जुटाउने भन्ने दबाब सरकारलाई पर्दै गएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि कम्तीमा १२ अर्ब रुपियाँ खर्च आवश्यक पर्छ । २०७४ मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भएको खर्चलाई आधार लिँदै आयोगले सो रकमको अनुमान गरेको हो ।

यसअघिको निर्वाचनमा आयोगले मात्रै ८ अर्ब २० करोड २१ लाख रुपियाँ खर्च गरेको थियो । आयोगका एक आयुक्तका अनुसार सेना र प्रहरीको खर्च रक्षा र गृह मन्त्रालयमार्फत भएको थियो । त्यहाँको खर्च करिब २ अर्ब रुपियाँ बराबरको हुनुपर्छ । यस आधारमा उक्त निर्वाचनमा सरकारी ढुकुटीबाट सवा १० अर्ब रुपियाँ खर्च भएको थियो । त्यसपछिका वर्षमा भइरहेको मूल्य वृद्धिसमेत समायोजन गर्ने र प्रदेशसभाको निर्वाचनको खर्च घटाउने हो भने अब कम्तीमा ११ र १२ अर्ब रकम आवश्यक हुने आयोगको अनुमान रहेको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र अन्य आयुक्त, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाबीचको छलफलमा निर्वाचन खर्चको विषय उठेको थियो ।

प्रमुख आयुक्त थपलियाले दुई दिनको साटो एकैदिन निर्वाचन गरिदिए व्यवस्थापन र खर्च कम हुने धारणा राख्नुभएको प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । सो अवसरमा अर्थमन्त्री विष्णु पौडेलले स्रोतको कुनै चिन्ता नगर्नुस्, बजेटमा कुनै कमी हुन दिने छैनौं भन्ने प्रतिबद्धता जनाउनुभएको बुझिएको छ । त्यसपछि एकै दिन निर्वाचन गर्ने विषयमा धेरै छलफल भएन । सो अवसरमा प्रधानमन्त्री ओलीले कानुनी पक्ष र सुरक्षा विषयमा कुनै पनि असर नपर्ने गरी सरकारले व्यवस्थापन गरिदिने बताउनुभयो ।

दुई दिनको निर्वाचन एकै दिन गरे खर्चसमेत केही घट्न सक्छ । गत जेठ १५ मा पूर्वअर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटले निर्वाचन शीर्षकमा रकम विनियोजन गरेको छैन । यो वर्षको बजेट वक्तव्यले निर्वाचनको कल्पना नै गरेको थिएन । निर्वाचन खर्चबारे सरकारसँग पुनः छलफल गर्ने पनि आयोगले जनाएको छ । नेपाल समाचारपत्र दैनिक